close

सिमसार बन्यो उपभोक्ताबाट अतिक्रमित क्षेत्र

सिमसार बन्यो उपभोक्ताबाट अतिक्रमित क्षेत्र

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ सिसाघारीमा २ वर्ष अघिसम्म स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको खुला जग्गा र चौर अहिले लोभलाग्दो पर्यटकीय क्षेत्र बनेको छ ।

 

सिसाघारी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र पर्यटकीय गन्तव्यको रूपमा सो सिमसार परिचित हुँदै गएको छ ।

 

२०७५ मा सहयोगी हातहरूको समूह साहस नेपाल कटारीले झापाको कन्काई नगरपालिकास्थित जामुख खाडी सिमसार भ्रमणमा लगेपछि कटारीमा पनि सिमसार बनाउन सकिने भन्दै उपभोक्ता समितिले प्राकृतिक सिमसार बनाएका हुन् ।

 

‘जामुन खाडीको सिमसार देखेपछि त्यस्तै बनाउने सम्भावना छ भन्ने लागेर थालेका थियौँ’, समितिका अध्यक्ष दिलबहादुर अधिकारीले भने ।

 

सामुदायिक वन उपभोक्ता समूहले जनश्रमदानसहित १ लाख ५० हजार रुपैयाँ लागतमा उपभोक्ताले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार बनाउन सुरु गरेका थिए । तर, सुरुमा सानो आकारको भए पनि अहिले फैलावट बढेको छ । 

 

समूहको जनश्रमदानले मात्रै सिमसार निर्माण र विस्तार सम्भव थिएन । उपभोक्ताले सिमसार निर्माणको काम थालेपछि बजेट अभाव भयो । त्यसपछि उनीहरू कटारी नगरपालिकासँग सहयोग माग्न गए ।

 

‘नगरपालिकामा सहयोगका लागि गयौँ । योजना सुनायौँ र माग राख्यौँ’, समूहका अध्यक्ष अधिकारीले भने, ‘नगरपालिकाले तत्कालै ५ लाख रुपैयाँ सिमसारका लागि दिएपछि काम अघि बढेको हो ।’

 

उपभोक्ताले काम थालेसँगै सिमसारको विकासका लागि नगरपालिकाले सहयोग गरेपछि अन्य काम अगाडि बढाउन सहज भएको अधिकारी सुनाउँछन् । नगरको सहयोगपछि सिमसारमा डिभिजन वन कार्यालयको ध्यान तानिएको उनको भनाइ छ ।

 

वनले पर्या-पर्यटन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ सहयोग गरेपछि सिमसार क्षेत्रमा २ थान बोर्ड राखिएको छ । बेन्च, सिँढी निर्माण भएका छन् । ४ लाख रुपैयाँ खर्चिएर आउटलेट निर्माण गरिएको छ ।

 

अहिले ५० लाख रुपैयाँको काम थालिएको समूहका अध्यक्ष अधिकारी बताउँछन् । यसमा प्रदेश १ सरकारको २५ लाख र कटारी नगरपालिकाको २५ लाख रुपैयाँ सहयोग जुटेको छ ।

 

यो बजेटले वनभोज स्थल, बालबालिका पार्क, मन्दिर निर्माण, घेराबार, पालेघर, टिकट घर, प्रवेश द्वार बनाउने योजना रहेको अधिकारीले जानकारी दिए ।

 

सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन समूहले २०७६ फागुनमा महापुराणसमेत लगाएको थियो । पुराणमा कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले २५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । नगरप्रमुख श्रेष्ठले वचन दिएको २५ लाख र प्रदेशको गरी ५० लाख रुपैयाँको काम सुरु भएको समितिले जनाएको छ ।

 

२५ लाखसहित पुराणमा संकलित ७२ लाख रुपैयाँ जम्मा भएको थियो । सो रकममध्ये १२ लाख रुपैयाँमा सिमसारको ताल विस्तार गरिएको थियो ।

 

अहिले सिमसार घुम्न दैनिक सय हाराहारी आन्तरिक पर्यटक आउने गरेको सिमसार हेरालु ताराबहादुर राउतले बताए । ‘शनिबार तथा सार्वजनिक बिदामा धेरै मानिस घुम्न आउँछन्’, उनले भने, ‘सिमसार घुम्न आउने, फोटो खिच्ने बोटिङ गर्नेको संख्या बढ्दै गएको छ ।’

 

सिमसारमा अहिले उदयपुर, ओखलढुंगालगायत प्रदेश २ बाटसमेत पर्यटक आउने गरेका छन् । आफनै पहलमा अतिक्रमणमा पर्दै गएको क्षेत्रमा छोटो समयमै पर्यटकीय गन्तव्य बनाउन सफल भएपछि उपभोक्ता खुसी छन् ।