close

उद्यमीलाई सीप सिकाउँदै कपुरकोट

उद्यमीलाई सीप सिकाउँदै कपुरकोट

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकामा उद्यमी छनोटमा परेकालाई सीप विकास तालिम सञ्चालन गरिएको छ । वडा नम्बर १ स्थित गैरीवाङमा ५ दिने बाख्रापालन सीप विकास तालिम सुरु भएको हो । 

 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तालिम पाएकालाई सीप विकास तालिम प्रदान गरिने लघु उद्यम विकास कार्यक्रम कपुरकोटका संयोजक दीपेन्द्र शाहीले बताए ।

 

वडा नम्बर २ मा ११ जनालाई सिलाइ-कटाइ र वडा नम्बर ६ मा १५ जनालाई बाख्रापालन तालिम सञ्चालन भइरहेको उनले जनाए । 

 

चालू आर्थिक वर्ष वडा नम्बर १ मा ५ जनालाई बंगुरपालन र ५ जनालाई भैँसीपालन तालिम दिइनेछ । यस्तै, वडा नम्बर २ मा १२ जना, वडा नम्बर ३ मा २३ जना, वडा न्मबर ५ मा १३ जनालाई बाख्रापालन सीप विकास तालिम दिइनेछ ।


वडा नम्बर ५ मा १३ जनालाई साबुन बनाउने तालिम र वडा नम्बर ६ मा ८ जनालाई च्याउ खेतीसम्बन्धी सीप विकास तालिम प्रदान गरिने कार्यक्रम संयोजक शाहीले बताए । उनले भने, ‘हामीले यस वर्ष १ सय १८ जनालाई सीप विकास तालिम दिँदै छौँ भने वडा नम्बर ४ मा सीप विकास तालिम र प्रविधि हस्तान्तरणसहित थप ४० जना उद्यमीलाई स्तरोन्नति गर्ने कार्यक्रम छ ।’

 

संघीय सरकारको ससर्त अनुदान र कपुरकोट गाउँपालिकाको साझेदारीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको छ । 


सीप विकास तालिमका लागि छनोट भएका उद्यमीलाई स्थानीय स्तरमा कच्चा पदार्थको उपलब्धता, व्यवसाय सञ्चालनका कठिनाइ, उत्पादित वस्तुको बजार, ग्राहक आवश्यकता, व्यावसायिक योजना आदिबारे उद्यमशीलता विकास तालिममार्फत जानकारी दिइएको छ । 


गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले पशुपालन व्यवसायलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । शुक्रबार वडा नम्बर १ मा बाख्रापालन सीप विकास तालिम उद्घाटन गर्दै उनले उन्नत तरिकाबाट खेतीपाती, पशुपालन गरेर आम्दानी लिन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

‘तपार्इंहरू सीपमूलक तालिम लिएर आर्थिक उपार्जनमा लाग्नुस्,’ तालिममा सहभागीलाई सम्बोधन गर्दै सेनले भने, ‘तालिमपछि व्यावसायिक रूपमा अगाडि बढ्न चाहनेका लागि गाउँपालिका सहयोग गर्न तयार छ ।’

 

तालिममा प्रशिक्षक टेकबहादुर खड्काले बाख्रापालन गर्दा ध्यान दिनुपर्ने विषय, बाख्रापालनका समस्या, रोगव्याधिलगायत विषयमा अभिमुखीकरण गर्नेछन् । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता रोशनी बुढाले गरेकी थिइन् ।