close

खेल मैदान बनाउन जग्गा दिनेलाई वडाको सम्मान 

खेल मैदान बनाउन जग्गा दिनेलाई वडाको सम्मान 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको छ । गाउँमै पदमध्वज राई खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दान गर्नेमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका दाइभाइ बैजकुमार र ज्ञानिन राईलाई सम्मान गरिएको हो ।

 

शुक्रबार बाम्राङका वडाध्यक्ष ललितकुमार राई, वडा सदस्य राजेन्द्र राई, बाम्राङ युवा क्लबका अध्यक्ष कीर्तमान राईलगायतले जग्गादाता दाजुभाइलाई खेल मैदानमै सम्मान गरेका हुन् । 

 

स्थानीय स्व. पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि बाम्राङमा खेल मैदान निर्माण सुरु गरिएको हो । खेल मैदानका लागि पदमध्वजको स्मृतिमा श्रीमती कृष्णकुमारी, छोराहरू ऐनकुमार, बैजकुमार, केजिन, ज्ञानिन, मनिन, शैलेन्द्र र सौराज राईले संयुक्त रूपमा निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । 

 

आर्थिक वर्ष २०७६/७७ मा वडा कार्यालयबाट विनियोजन गरिएको ४ लाख ५० हजार रुपैयाँबाट निर्माण सुरु गरिएको पदमध्वज राई खेल मैदानलाई स्टेडियमसहित सुविधासम्पन्न बनाउन डिपिआरको काम सुरु गरिसकिएको छ ।

 

निःशुल्क प्राप्त २५ रोपनी क्षेत्रफलभित्र १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको बहुउद्देश्यीय खेल मैदान निर्माणका लागि ११ चैतदेखि डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष राईले बताए । आगामी वैशाखसम्म सम्पन्न गर्ने गरी इनोभेटिभ बिल्डर्सले खेल मैदानको डिपिआर बनाउन थालेको हो । 

 

गाउँमा खेल मैदान निर्माणका क्रममा स्थानीयले पनि २ लाख रुपैयाँ बराबरको श्रमदान गरिसकेका छन् । साविकको सदरमुकामसँग जोडिएको बाम्राङमा वडाबासीको मागअनुसार खेल मैदान निर्माण सुरु गरिएको वडाध्यक्ष राईले जानकारी दिए । खेल मैदान निर्माण सकिएपछि नगरपालिकालगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुनेछ ।