close

छथर जोरपाटीका किसानका दुःख: असिनापानीबाट ४८ करोडको नोक्सानी

छथर जोरपाटीका किसानका दुःख: असिनापानीबाट ४८ करोडको नोक्सानी

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको छथर जाेरपाटी गाउँपालिकामा २ वैशाखमा परेको असिनापानीबाट ४८ करोड रुपैयाँ बराबरको तरकारी, फलफूल तथा नगदे बाली नष्ट भएको छ ।

 

कृषि शाखाले गरेको अनुगमनपछि संकलन गरेको विवरणअनुसार पालिकाको वडा नम्बर २, ५ र ६ मा लगाइएका सबै बाली नष्ट भएका हुन् । अन्य ३ वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

 

सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड रुपैयाँ बढीको तरकारी तथा अन्य बालीमा क्षति पुगेको छ । त्यसपछि वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

 

गाउँपालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति विवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेस गरेको छ ।

 

७ वैशाखमा बसेको पालिका बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ, प्रदेश र सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

 

असिनाबाट काउली, बन्दा, आलु, रायो, मटर कोसा, खुर्सानी, मकै, गोलभेडा, काँक्रा, अलैँचीलगायत र केही चौपायामा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

 

१०२.८३ वर्गकिलोमिटर क्षेत्रफलमध्ये ५१.९७ वर्गकिलोमिटर कृषियोग्य जमिन भएको पालिकामा कुल ३९२२ घरधुरीमध्ये १५.९७ प्रतिशत कृषि पेसामा आबद्ध छन् ।