close

पोखरेबगर-चित्रे सडक: म्याद सकिएको ११ महिनामा भौतिक प्रगति आधा मात्रै 

पोखरेबगर-चित्रे सडक: म्याद सकिएको ११ महिनामा भौतिक प्रगति आधा मात्रै 

Trulli
ADVERTISEMENT

म्याग्दी- ११ महिनाअघि नै निर्माण सकिनुपर्ने अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर-चित्रे सडक आयोजनाको हालसम्म आधा मात्र भौतिक प्रगति भएको छ । 

 

काम सुरु भएको २८ महिनामा ५२ प्रतिशत निर्माण सकिएको आयोजनाको आगामी १४ भदौसम्म थपिएको समयसीमाभित्र बाँकी ४८ प्रतिशत काम सक्ने चुनौतीसँगै अधुरो र अलपत्र बन्ने चिन्ता बढेको छ । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख हुँदै पर्यटकीय स्थल घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति गर्न २०७५ मंसिरदेखि काम सुरु गरेको थियो । 

 

कच्ची, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन, मेसिनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३.७५ किलोमिटर कालोपत्रे गर्न ९ मंसिर २०७५ मा २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान-जयमाता जेभीसँग सम्झौता गरेको थियो । 

 

पहिलो पटक ठेक्का सम्झौतामा उल्लिखित म्याद २२ जेठ २०७७ मै सकिएको थियो । हालसम्म भौतिकतर्फ ५२ र वित्तीयतर्फ ४२ प्रतिशत प्रगति भएको आयोजना प्रमुख आकांक्षा रिजालले बताइन् । 

 

‘पछिल्लो समय कामले तीव्रता लिएको छ । बारम्बार अनुगमन र निर्देशन दिएका छौँ’, उनले भनिन्, ‘थपिएको म्याद सकिनुपूर्व आयोजना सक्ने गरी समन्वय गरिरहेका छाँै । निर्माण व्यवसायीले ८० प्रतिशत काम सक्ने प्रतिबद्धता गर्नुभएको छ । हामीले शतप्रतिशत प्रगति हुनुपर्ने अडान राखेका छाैँ ।’
 
कोरोनाको जोखिम, लकडाउन र सामाजिक कारण देखाएर १४ भदौ २०७८ सम्मका लागि ठेक्काको म्याद थपिएको छ । पोखरेबगरदेखि घार हुँदै खिवाङसम्मको ९ किलोमिटर १०० मिटर सडक विस्तार, ढलान, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । सो खण्डमा कालोपत्रेका लागि सबबेस र बेस बिछ्याउने काम गरिरहेको छ । 

 

आयोजना प्रभावित शिख, फलाते र चित्रे खण्डमा पहिलो चरणमा डोजरले ब्याक कटिङ मात्र गरेको छ । खिवाङसम्म मात्र काम गरेर आयोजना फिर्ता हुने खतरा बढेको शिखका नरबहादुर नेपालीले बताए । 

 

‘एक वर्षयता शिख, फलाते र चित्रे खण्डमा काम गरेका छैनन्’, उनले भने, ‘घार र खिवाङसम्म मात्रै काम गरेर आयोजना फिर्ता हुने हो कि भन्ने चिन्ताले पिरोलिएका छाैँ ।’ शिखका खेम पुनले डोजरले भत्काएको ठाउँमा पर्खाल निर्माण गर्न ढिलाइ गर्दा पहिरोको जोखिम बढाएको सुनाउँछन् । 


घार खण्डका सडक छेउछाउमा घरजग्गा पर्ने स्थानीयको विवादले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै आएका निर्माण व्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटोछिटो परिवर्तन हुन ढिलासुस्तीको मुख्य कारण हो । सुरु भएदेखि आयोजनाका ४ जना प्रमुख फेरिएका छन् । 

 

ठेकेदारले सडक ढलान, नाली निर्माण र सोलिङ गर्दा तोकिएको मापदण्ड, गुणस्तर र परिणामअनुसार निर्माण सामग्री प्रयोग नगरी टालटुले हिसाबले काम गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ बिरौटाका केशव बरुवालले बताए । मार्ग खुलेको १ दशकपछि सडक स्तरोन्नति सुरु हुँदा २ वर्षअघि शिख र घारका बासिन्दामा छाएको खुसियाली निर्माणको धीमा गतिले निराशामा परिणत हुन थालेको छ । 

 

म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्त्व छ । सडक स्तरोन्नतिपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयलाई आउजाउका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ । 

 

प्रभावितसँगको विवाद व्यवस्थापनका लागि सहजीकरण गरेका घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले निर्माण व्यवसायीले अपेक्षाकृत काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । ‘सम्बद्ध आयोजना र निर्माण व्यवसायीलाई सडकलाई गति दिन ताकेता गरिरहेका छौँ’, उनले भने, ‘ठेकेदारको ढिलासुस्ती र कमजोरी औँल्याएर पटक-पटक सचेत बनाएका छौँ ।’