close

प्रधानमन्त्रीले गरे २२ तले धरहराको उद्घाटन

प्रधानमन्त्रीले गरे २२ तले धरहराको उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले २२ तले धरहराको शनिबार उद्घाटन गरेका छन् । काठमाडौंको सुन्धारामा अवस्थित धरहरा रहेको स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गरेका हुन् ।

 

कार्यक्रममा प्रधानमन्त्रीले धरहरामा रहेको शिलालेख अनावरण गरेपछि बाल्कोनीमा पुगेर काठमाडौं उपत्यकाको दृश्यावलोकनसमेत गरेका थिए । लिफ्टमार्फत धरहराको २०औँ तलामा रहेको बाल्कोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टिसमेत गरे ।

 

२०७२ को भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले १२ पुस २०७५ मा गरेका थिए ।


धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना २२ तलाको छ । १९९० को भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

 

प्रधानमन्त्रीबाट धरहराको उद्घाटन गरिए पनि पुनर्निर्माणका सबै काम भने सम्पन्न भइसकेका छैनन् । हाललाई सर्वसाधारणका लागि धरहरा अवलोकन नखुलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बताए । 


१२ वैशाख २०७२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना रहेको सचिव गेलालले जानकारी दिए । धरहरामा रंगरोगनको काम सकिएको छ भने हाल २ वटा लिफ्ट जडान गरिएको छ । पार्किङ क्षेत्र, बगैँचालगायत काम जारी छ । 

 

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको निधन भएको थियोे भने हजारौँ भौतिक संरचनामा क्षति पुगेको थियो ।


महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम १८८२ मा धरहरा बनाउन लगाएको इतिहास छ । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० को भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए ।

 

२०७२ को भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो ।