close

खोटाङमा कोरोनाबाट बच्न १३ बुँदे मापदण्ड सार्वजनिक 

खोटाङमा कोरोनाबाट बच्न १३ बुँदे मापदण्ड सार्वजनिक 

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड-१९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङले १३ बुँदे जनस्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ ।

 

कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्न कोभिड संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको हो । 

 

मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाको परिपत्रबमोजिम जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको ८ वैशाखको बैठकले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न-गराउन सूचना जारी गरेको हो ।

 

जारी सूचनामा विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न-गराउन, पार्टी प्यालेस, दोहोरी, हाटबजार, दर्शकसहितको खेलकुद तथा भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ ।

 

यस्तै, मठमन्दिर, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना गर्न-गराउन आग्रह गरिएको छ ।

 

कुनै पनि सामान अनावश्यक रुपमा नछुने, २ जना व्यक्तिको बीचमा २ मिटर दूरी कायम गर्ने, अनिवार्य मास्क प्रयोग गर्ने, पटक-पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गरी पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, २५ जना बढी उपस्थित नहुने गरी मेला, महोत्सव, जात्रा, पर्व, विवाह सञ्चालन गर्न-गराउन भनिएको छ । 

 

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस, धर्मशाला प्रयोग गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी मात्र गर्न, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठकलगायत सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न आग्रह गरिएको छ । 

 

कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा स्यानिटाइजरको र मास्क प्रयोग अनिवार्य गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने, सार्वजनिक तथा निजी सेवाप्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

 

मास्क नलगाई गाडी चढ्न निषेध 

 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्न, चालक तथा सह-चालकले मास्क र भाइजर लगाउनुपर्ने मापदण्ड जारी गरेको छ ।

 

यस्तै, सवारी साधनलाई दैनिक निःसंक्रमित गर्न, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आए चालक वा सह-चालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने, सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यात्रा गर्ने यात्रुको विवरण जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउन आग्रह गरिएको छ । 

 

यस्ता छन् स्थानीय तहको कार्यभार 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) का अनुसार कोरोना रोकथाम, नियन्त्रण, उपचार र अनुगमनका लागि स्थानीय तहले १५ बेडसम्मका क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग संक्रमितको उपचारका लागि सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्य मन्त्रालयमा सिफारिस गरी पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।

 

होम क्वारेन्टाइन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच तथा उपचार आवश्यक देखिए प्रयोगशाला र अस्पतालसँग समन्वय गरी सम्बन्धित संस्थासम्म पु¥याउने काममा सहजीकरण गर्नुपर्नेछ ।

 

कोभिड-१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्न, नतिजा पोजेटिभ आएका व्यक्तिको पिसिआर परीक्षणको व्यवस्था मिलाउन, नतिजा पोजेटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण गर्नुपर्ने स्थानीय तहको भूमिकाभित्र समावेश छ । 

 

यस्तै, आवश्यकताअनुसार आफ्नो स्थानीय तहभित्र स्वाव संकलन गर्ने व्यवस्था मिलाउने, स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, अन्य आवश्यक जनशक्ति वा स्वयंसेवक परिचालन गर्ने-गराउने, स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्नुपर्नेछ ।

 

कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी गर्ने व्यवस्था मिलाउने, सो बमोजिम गर्न सम्भव नभए कोभिड-१९ को कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार नेपाली सेनामार्फत गराउन भनिएको छ । 

 

क्वारेन्टाइन, आइसोलेसन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षणलगायत अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई भनिएको छ । 

 

सूचनाको बर्खिलाप गर्नेलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।