close

बाँकेका सरकारी अस्पताल कोरोना संक्रमितले भरिए: ८० प्रतिशत अक्सिजनको सहारामा

सरकारले बेलैमा आँखा नखोले अवस्था नियन्त्रणबाहिर जान सक्ने

बाँकेका सरकारी अस्पताल कोरोना संक्रमितले भरिए: ८० प्रतिशत अक्सिजनको सहारामा

सरकारले बेलैमा आँखा नखोले अवस्था नियन्त्रणबाहिर जान सक्ने

Trulli
ADVERTISEMENT

बाँके- बाँके कोरोना संक्रमणको हटस्पट बनेको छ । भेरी अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् । भने कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पनि कोरोना संक्रमितले भरिएका छन् ।

 

बाँकेमा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मात्र कोरोना संक्रमितको उपचार भइरहेको छ । भेरी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका १ सय ४० बेड सबै भरिएको अवस्थामा छन् । बाँकेमा करिब ६०० जना बिरामी होम आइसोलेसनमा बसिरहेको अवस्था छ ।

 

संक्रमितमध्ये ८ जना भेन्टिलेटरमा छन् भने उपचार गराइरहेका ८० प्रतिशतलाई अक्सिजन दिइएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले भयावह रूप लिन थालेपछि यहाँका स्थानीय तह आवश्यक तयारीमा जुटेका छन् ।

 

कोरोना महामारीसँग जुधिरहेको नेपालगञ्ज उपमहानगरले संक्रमण दर न्यूनीकरणका लागि हरसम्भव प्रयास गरिरहेको छ । स्थानीय सरकारले उपमहानगरको मनिकापुर वडा नम्बर ३ राँझामा १२० बेडको आइसोलेसन सेन्टर तयार गरे पनि पर्याप्त छैन ।

 

कोहलपुर नगरपालिकाले पनि ५ शय्याको कोरोना अस्पताल निर्माण गरेर डाक्टरसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ । सो अस्पतालमा ४ जना संक्रमित भर्ना भइसकेका छन् भने संक्रमित बढे अस्पतालसँगै जोडिएको प्राकृतिक चिकित्सालयलाई समेत प्रयोगमा ल्याउने तयारी गरिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।


बैजनाथ गाउँपालिकामा सम्पन्न कार्यापालिका बैठकले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

 

बैठकले पालिका स्तरीय कोरना भाइरस रोकथाम तथा नियन्त्रण समिति परिचालन गर्ने तथा वडा स्तरमा समेत वडाध्यक्षको अध्यक्षतामा ९ सदस्यीय समितिलाई परिचालन गर्ने भएको छ ।

 

पालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माका अनुसार कोभिड अस्पतालमा कार्यरत कर्मचारीलाई स्वास्थ्य इकाइमा पठाइएकामा पुनः कोभिड अस्पतालमा ल्याउने निर्णय गरिएको छ । अवस्था हेरेर क्वारेन्टाइनसमेत सञ्चालन गरिने उनले बताइन् ।

 

पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सबै स्थानीय तहले आवश्यक सुरक्षा मापदण्ड कार्यान्वयनमा जुटेका छन् ।

 

कोरोना प्रकोप बढिरहेको अवस्थामा सेवाप्रदायक स्थानीय निकायले सहजै सेवा प्रवाह गर्न सकिरहेका छैनन् । सेवा प्रदान गर्ने निकायका जनशक्तिलाई कोरोना संक्रमण भएपछि अधिकांश स्थानमा यो समस्या छ ।

 

नेपालगञ्ज उपमहानगर वडा नम्बर १ का जनप्रतिनिधिसहित सबै जना संक्रमित छन् । सोही कारण यहाँको सेवा प्रभावित भएको छ ।

 

यसैगरी राप्तीसोनारी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत १७ जना कर्मचारीमा कोभिड संक्रमण देखिएपछि सेवा प्रवाह रोकिएको छ ।

 

सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले सहज भएपछि पुनः सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले बताए ।

 

उनले विज्ञप्तिमार्फत गाउँपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिए । बाँकेका अन्य पालिका पनि कोरोना संक्रमण दर न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीमा जुटेका छन् ।