close

रावाबेँसीमा असिनाले २३ लाखको अन्नबालीमा क्षति

रावाबेँसीमा असिनाले २३ लाखको अन्नबालीमा क्षति

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकामा असिनापानीका कारण लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको छ । गत २ वैशाखमा परेको असिनाले गाउँपालिकाको वडा नम्बर ६ हौंचुरको पैयाँमा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ लाख बराबरको अन्नबाली नोक्सान भएको हो ।


३१ घरपरिवारको बसोबास रहेको पैयाँमा असिनापानीले आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पुर्‍याएको गाउँपालिका कृषि शाखाका संयोजक मुगाधन राईले बताए । 

 

असिनापानीले बालीनालीमा पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेका थियो । अनुगमनका क्रममा २५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा १३ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक मूल्यांकन गरिएको छ ।

 

असिनाका कारण आलुको उत्पादन ८० प्रतिशतले घट्ने अनुमान छ । बोट भाँचिएपछि जरामा फल्दै गरेको आलुको दाना माउ बनेर निस्कने भएकाले खान अयोग्य हुने र उत्पादनमा समेत ह्रास आउने कृषि शाखा संयोजक राईको भनाइ छ ।

 

यस्तै, १५ हेक्टर क्षेत्रफलमा लगाइएको करिब ६ लाख रुपैयाँ बराबरको मकै बालीमा क्षति पुगेको छ । करिब १० रोपनी जग्गामा थन्क्याउने बेला भएको २ लाख ५० हजार रुपैयाँ बराबरको गहुँ र जौसमेत असिनाले नष्ट पारेको छ ।

 

१ हेक्टरमा लगाइएको नासपाती र आल्चामा १ लाख र १ हेक्टर जग्गामा लगाइएको स्याउमा ५० हजार रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । असिनाले स्याउ, नासपाती र आल्चाको फूल तथा चिचिलो झारेको छ । पैयाँमा करिब २० हेक्टरमा स्याउ खेती लगाइएको छ । असिनाले काउली, बन्दाजस्ता तरकारी बालीसमेत नष्ट गरेको छ । 


रूपाकोट फलफुल तथा तरकारी उत्पादन कृषक समूहमा आबद्ध किसानले असिनापानीको क्षतिबारे जानकारी गराएपछि गाउँपालिकाबाट कृषि शाखाको टोली स्थलगत निरीक्षणका लागि गत ५ वैशाखमा पैयाँ पुगेको थियो ।

 

‘असिनापानीले करिब २३ लाख रुपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको अनुमान गरिएको छ । सबैभन्दा बढी आलुमा क्षति पुगेको देखिएको छ,’ कृषि शाखा संयोजक राईले भने, ‘आलु, गहुँ, मकै, तरकारी, फलफूललगायत बाली असिनाले नष्ट गरेपछि यो क्षेत्रमा खाद्य संकट हुने देखिएको छ ।’ 

 

असिनाले क्षति पुर्‍याएपछि समूहले कृषिसँग सम्बन्धित कार्यालयसँग राहतका लागि गुहार माग्ने निर्णय गरेको छ ।