close

खोटाङमा दर्शनार्थी बोकेको बस पल्टिँदा १ जनाको मृत्यु, २२ घाइते 

खोटाङमा दर्शनार्थी बोकेको बस पल्टिँदा १ जनाको मृत्यु, २२ घाइते 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा दर्शनार्थी बोकेको बस पल्टिँदा सह-चालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा३ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटनाग्रस्त हुँदा सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय सह-चालक अनिल तामाङको मृत्यु भएको हो ।

 

तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस वडा नम्बर १ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभीरमा दुर्घटनामा परेको हो ।

 

सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । बस दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले बताएको छ । 


बस दुर्घटनामा सप्तरी कञ्चनरुप नगरपालिका वडा नम्बर १२ की ७५ वर्षीया सीता नेपाल, ३८ वर्षीया रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ४१ वर्षीया प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ, बसका चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घाइते भएका छन् ।

 

यस्तै, १५ वर्षीया प्रजिता नेपाल, ३५ वर्षीया गीता श्रेष्ठ, ४० वर्षीया विमला पोखरेल, ३८ वर्षीया उर्मिला श्रेष्ठ, ६० वर्षीया लीला श्रेष्ठ, ५५ वर्षीया शुद्धिदेवी महतो, १८ वर्षीया सरिता श्रेष्ठ, ४० वर्षीय भीमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ५० वर्षीय टेक श्रेष्ठ, ४५ वर्षीया उर्मिला श्रेष्ठ र ४१ वर्षीया प्रमिला श्रेष्ठ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 

तीमध्ये ९ जना गम्भीर घाइते छन् । कतिपय घाइतेलाई स्वास्थ्य चौकी बाहुनीडाँडा र च्यास्मीटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेको उद्धारका क्रममा घटनास्थल पुगेका स्थानीय देवराज केसीले बताए ।

 

बवसमा चालक र सह-चालकसहित ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए ।

 

पल्टिएको बस सडकमा अड्किएपछि राँगाकाटेमा ३/४ घन्टा सडक अवरुद्ध भएको थियोे । स्थानीय, प्रहरी चौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए ।

 

दुर्घटनाको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली सेनाका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरीका डिएसपी सरोज कार्कीलगायतको टोली घटनास्थल पुगेको छ ।