close

लकडाउनले जन्माएको ‘मट्का टी ल्यान्ड’

लकडाउनले जन्माएको ‘मट्का टी ल्यान्ड’

Trulli
ADVERTISEMENT

गोरखा- मट्का चिया भन्नेबित्तिकै गोरखामा नयाँ बजार नजिकै रहेको छिपीटोलका अमिर र समीर श्रेष्ठले सञ्चालन गरेको ‘मट्टी-ल्यान्ड गोरखा द फुड ग्यारेज’ को नाम आउँछ ।

 

विदेश जाने सोच त्यागेका अमीर र विदेशका कठिनाइ बटुलेर स्वदेश फर्किएका समीरको गोरखाको छिपीटोलमा मट्का टी ल्यान्ड खोलेका हुन् । विदेशमा पसिना बगाउँदा अनि स्वदेशमै अर्काको जागिर गर्दाका अनुभवको नयाँ पाठ सिक्दै २ दाजु भाइ नयाँ व्यवसायमा लागेका छन् । मट्टी-ल्यान्डबाट उनीहरू नाम र दाम कमाउने सपना बुनेर काम गरिरहेका छन् ।


मट्का चिया अरू चियाभन्दा फरक छ । चियामा मसला हालेर पकाइने भएकाले चियाको स्वाद मीठो हुन्छ । मट्काले पानी सोस्ने भएकाले चियाको स्वाद मीठो हुने गरेको अमीर बताउँछन् ।

 

मट्टी-ल्यान्डमा प्रयोग भएका अधिकांस डेकोरेसनका सामग्री पुनर्प्रयोगमा ल्याइएका छन् । पुराना साइकल, सवारीका टायरमा आकर्षक तरिकाले रंग लगाइएको छ भने भित्तामा मनै लोभ्याउने कलात्मक आकृति बनाइएको छ ।


अमीर आफ्नो संस्कृतिलाई जोगाउँदै सेवाग्राहीको आकर्षणमा जोड दिएर मट्टी-ल्यान्डको डेकोरेसन गरेको अमीर बताउँछन् ।

 

‘सबभन्दा पहिला हाम्रो संस्कृति जोगाउने, यहाँ आउने ग्राहकको आँखालाई आकर्षित गर्ने सोच हो । अनि, खानाको स्वाद पस्किनेमा पनि विशेष ध्यान दिन्छौँ’, समीरले भने ।


मट्का चिया स्पेसल रहेको ल्यान्डमा आएपछि पेट भरेर जान चाहनेका लागि नेवारी खाजा, पिजा, बर्गर, मःम, चाउमिनजस्ता खानाका परिकार पाइन्छ ।

 

शान्त, मनोरम वातावरणमा रहेको यस स्थानमा अचेल ग्राहकको आउजाउ बाक्लो हुन थालेको छ । यसको कारण भने यहाँ पाइने खानाका परिकार नै हो ।


अमीरले बजाउने सुमधुर गितार अनि समीरले गाउने सुरिलो गीतको लय ग्राहकले सुन्न सक्छन् । उनीहरू सेवाग्राहीलाई खुसी बनाउन तिनका रोजाइका गीत सुनाएर मनोरन्जन दिने गर्छन् । 

 

अमीर र समीर शाक्य दाजुभाइ हुन् । सानैदेखि सामूहिक परिवारमा हुर्किएका यिनीहरू दाजुभाइ भन्दा बढी साथीभाइको जस्तो व्यवहार गर्थे रे । उमेरमा डेढ वर्षको मात्रै फरक रहेका २ दाजुभाइलाई सानैदेखि एकअर्काको सहयोगबिना केही गर्न मन लाग्दैनथ्यो ।


१८ महिना फरक रहेका यिनीहरूको पढाइमा भने १ कक्षा फरक थियो । गोरखाकै सरकारी स्कुलबाट कक्षा १० उत्तीर्ण गरेपछि २ दाजुभाइ सन् २०१० देखि माध्यमिक शिक्षाका लागि काठमाडौं पुगेर एउटै कलेजमा पढे ।

 

१२ कक्षा पास गरेलगत्तै समीर विदेश गए भने अमीर १२ कक्षा पास गर्नेबित्तिकै जर्मन जाने सोचमा भाषा कक्षा पढ्न सुरु गरे । २०७२ नजिकिँदै गर्दा समीर विदेशबाट फर्किए, जतिबेला अमीर काठमाडौंमै थिए । जब १२ वैशाख २०७२ मा भूकम्प गयो, त्यसपछि उनीहरू काठमाडौंको डेरा छाडेर गोरखा फर्किए ।

 

अमीर सम्झिन्छन्, ‘दाइ विदेशबाट भर्खरै फर्कनुभएको थियो । म विदेश जाने तयारीमा थिएँ । भूकम्प गयो, गोरखाको घर फर्कियौँ । सबै लथालिंग थियो । काम थिएन । पछि फेसबुकबाटै हाम्रो सर्कलका १२ जना साथीहरू मिलेर भूकम्पपीडितलाई सहयोग संकलन गरेर १ करोड रुपैयाँ बढी रकम सहयोग हस्तान्तरण गर्‍यौँ ।’

 

भूकम्पपीडितलाई रकम उठाएर सहयोग गर्न पाउँदा उनको खुसीको सीमा रहेन । त्यही खुसीले उनलाई विदेश जाने रहर त्यागिदियो । भूकम्पको २ वर्ष उनको यत्तिकै बित्यो ।


२०७४ मा उनको परदेसिएका बुबा पनि घर फर्किए । त्यसपछि घरमा रोजगार कोही पनि भएनन् । अनि, उनीहरू सपरिवार चितवन जाने निर्णय गरे ।

 

‘२०७५ को अन्त्यतिर हामी चितवन गयौँ । त्यहाँ बुबा र आमाले तरकारी र फलफूल पसल गर्नुभयो । मैले दिउँसोमा मार्केटिङ गर्थें, दाइले सिजील्यान्डमा काम थाल्नुभयो । बेलुका चितवनकै एउटा क्लबमा दाइ गीत गाउनुहुन्थ्यो अनि मैले गितार बजाउँथेँ’, अमिर विगत कोट्याउँछन् । 


चितवन पुगेको करिब १ वर्षपछि दैनिक राम्ररी चल्न थाल्यो । परिवार सबैको आयस्रोत हुन थाल्यो । तर, एकाएक कोरोना भाइरस महामारीको रूपमा फैलिन थाल्यो ।

 

अमीर त्यो पल सम्झँदै भन्छन्, ‘सुरु-सुरुमा जागिरमा आउजाउ गर्न पनि मरिन्छ कि भन्दै जाने गर्थ्याैँ विस्तारै लकडाउन भयो । गरिरहेको जागिर खोसियो, बेरोजगार भयौँ । आयस्रोत भनेकै बाआमाले गर्नुभएको त्यही एउटा सानो तरकारी पसल थियो, त्यो पनि मानिस किन्न आउन डर मान्ने । खासै चलेन ।’

 

अनि जन्मियो, ‘मट् टी ल्यान्ड’

 

लकडाउनले उनीहरूको परिवारमा पनि आर्थिक मन्दी सुरु हुन थाल्यो । त्यसपछि विकल्प खोज्न सुरु गरे । सरकारले अत्यावश्यक वस्तुबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेकाले उनीहरूले तरकारी र फलफूल होम डेलिभरी गर्ने निष्कर्षमा पुगे ।

 

अमीर भन्छन्, ‘हामीले आर्थिक मन्दीको समस्याबाट बच्न तरकारीको होम डेलिभरी गर्न रिक्सा किन्यौँ । हरेक दिन रिक्सामा तरकारी बोकेर ३ जना बाउछोरा पालैपालो तरकारी बेच्दै हिँड्न थाल्यौँ ।’

 

तरकारीको होम डेलिभरी गर्दागर्दै अमीर १ दिन चितवनको भरतपुरमा रहेको एउटा रेस्टुरेन्ट पुगे । मट्का चिया स्पेसल रहेको त्यो रेस्टुरेटडको सजावट देखेर उनी आकर्षित भए ।


उनी भन्छन्, ‘रेस्टुरेन्टमा छिर्नेबित्तिकै मेरो मन त्यहाँको दृश्यले आकर्षित बनायो । जागिर गएपछि तरकारीको डेलिभरी गर्दैगर्दा कताकता मलाई पनि अब लकडाउन खुलेपछि केही व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो । तर, के गर्ने केही सोच्न सकेको थिइँन । मलाई पनि त्यहाँको जस्तै रेस्टुरेन्ट खोल्न मन लाग्यो ।’

 

यसका लागि उनले घरमा सल्लाह गरे । घरका सबै सकारात्मक देखिए । समीर भन्छन्, ‘मेरो घरमा हामीले बनाएको योजना सितिमिति फेल खाँदैन । त्यसलाई सफल बनाउन सबै जना लागिपर्नुहुन्छ । यसमा पनि त्यही भयो ।’


त्यसपछि उनीहरूले उचित ठाउँ सोच्न थाले । यत्तिकैमा अमीर दाजुभाइलाई आफ्नै गाउँठाउँ गएर व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र गोरखा फर्किए ।

 

लकडाउन सकिएलगत्तै गोरखा फर्किएका उनीहरूले करिब ६ महिना लगाएर टी ल्यान्ड सुरु गरेका छन् । यसले सफलता दिनेमा २ दाजुभाइ ढुक्क छन् । भन्छन्, ‘हामी दाजुभाइले एउटै व्यवसाय सुरु गरेका छौँ । ढिलोचाँडो भन्ने कुरा आफ्नो ठाउँमा छ तर निरन्तर व्यवसाय सञ्चालन गरिरहन्छौँ ।’

 

व्यवसाय सफल हुनेमा ढुक्क रहेका २ दाजुभाइलाई आफ्नो टोल पनि सबैसामु चिनाउने रहर छ । भन्छन्, ‘हामी ग्राहकको खुसीलाई आफ्नो सफलता मानेर काम गरिरहेका छौँ, गरिरहन्छौँ । त्यसैले व्यवसाय मात्रै होइन, गोरखाको इतिहास जोडिएको छिपीटोललाई पनि सबैसामु चिनाउने लक्ष्य छ ।’

 

यो टोलबाट गोरखामा गाईजात्राको सुरुआत भएको उनीहरू बताउँछन् । नेवारको संस्कृतिसँग पनि जोडिएको छ, यो टोल ।


करिब १५ लाख रुपैयाँ लागतमा सुरु भएको टी ल्यान्डमा हाल २ जनाले रोजगारी पाएका छन् । अरूलाई जागिर दिएर मालिक बन्न पाउँदा दुवै दाजुभाइ खुसी छन् ।