close

भीमादका किसानको बाख्रागोठमा इजरायली राजदूत 

‘युवा पुस्ताले कृषि अँगाले मात्र नेपाल समृद्धिको नजिक’

भीमादका किसानको बाख्रागोठमा इजरायली राजदूत 

‘युवा पुस्ताले कृषि अँगाले मात्र नेपाल समृद्धिको नजिक’

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको भीमाद नगरपालिका वडा नम्बर ९ पाथर्दीका २९ वर्षीय ठिटो शिवकुमार आलेले १ दशकदेखि बाख्रापालन गर्दै आएका छन् । ४ वर्षअघि उनी साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययनपछि बाख्रापालनलाई व्यवसाय बनाएका छन् । 


बोर बाख्रापालनबाट मनग्य आम्दानी गर्ने शिवकुमार पाथर्दीका एक्ला कृषक होइनन् । उनीसँगै गाउँमा ६० घरधुरीले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषकले वार्षिक डेढ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । 

 

बाख्रापालनकै कारण यो गाउँको चर्चा देशभर छ । बोर बाख्राको स्रोत केन्द्र पाथर्दी गाउँमा अध्ययन, अवलोकनका लागि देशभरका कृषकको आउजाउ हुुन्छ । शनिबार दिउँसो नेपालका लागि इजरायली राजदूत हनन गोडरले पनि पथार्दीस्थित शिवकुमार आलेको बाख्रागोठमै पुगेर अवलोकन गरे ।


उनले सञ्चालन गरेको सिर्जनशील बाख्रा फार्मको अवलोकनमा आएका गोडरले बाख्रापालनबारे जानकारी लिए । वार्षिक आम्दानी, खर्चवर्च आदि प्रश्न गरे । 

 

निकै सरल र सहज देखिएका उनले करिब १ घन्टा पाथर्दीमा बिताए । कोदो सेल, महलगायतका स्थानीय अर्गानिक स्वाद चाखे । स्थानीयलाई पनि आफैंले बनाएर इजरायली खानाको स्वाद चखाए । केटाकेटीसँग पनि रमाए ।

 

पालिका खबरदातासँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले शिवकुमारको बाख्रापालनबाट प्रभावित भएको सुनाए । ‘शिवकुमारको कृषि कर्मबाट एकदमै प्रभावित भएँ’, उनले अगाडि भने, ‘युवाहरूले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दै छन् भन्ने देख्न पाएँ ।’

 

कृषि पेसालाई रहर मात्र बनाउन नहुने राजदूत हनानको सुझाव छ । उनले भने, ‘कृषि रहर होइन । यो व्यवसाय, पेसा हो । जिन्दगीको एउटा बाटो हो ।’ कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरू निकै मिहिनेती भएको उनले सुनाए ।

 

‘बाख्रापालन सुरु गर्दा कुनै दिन राजदूत आएर आफ्नो गोठको अवलोकन गर्नुहुन्छ भन्ने कल्पनासमेत थिएन’, कृषक शिवकुमारले भने, ‘जीवन गुजाराका लागि व्यावसायिक बाख्रापालन थालेको थिएँ । राजदूतको आवागमनले हौसला थपेको छ ।’

 

आफूसँगै समुदायलाई समेत आर्थिक आत्मनिर्भरताको बाटो देखाउन पाउँदा यो पेसाले सन्तुष्टि मिलेको उनको भनाइ छ । पाथर्दी गाउँबाटै १० चैत २०७५ मा गण्डकी प्रदेशको महत्त्वाकांक्षी कार्यक्रम ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ को शुभारम्भ गरिएको थियो । 

 

गोठभरि बाख्रा पाल्ने यहाँका कृषकले त्यही बाख्रा देखाएर पाहुना डाक्न थालेका छन् । मगर समुदायको बस्ती पाथर्दीमा २ वर्षदेखि सामुदायिक होमस्टे सञ्चालन गरेका छन् ।