close

स्मार्ट कृषि गाउँ बन्दै बुद्धभूमिको महुवा

स्मार्ट कृषि गाउँ बन्दै बुद्धभूमिको महुवा

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको छ । भैँसीपालक कृषकलाई सहयोग गर्ने उद्देश्यले महुवा, पण्डितपुर र सेमरना गाउँलाई लक्षित गरी कार्यक्रम लागू भएको छ ।

 

कार्यक्रमबाट ८५ घरपरिवारका ४ सय ५६ जना कृषक लाभान्वित हुने बुद्धभूमि वडा नम्बर ६ का वडाध्यक्ष नन्दलाल यादवले बताए । 

 

चालू आवमा लुम्बिनी प्रदेश सरकारबाट ४० लाख र समुदायबाट १३ लाख १५ हजार रुपैयाँ खर्च गरिनेछ । कार्यक्रमअन्तर्गत यस वर्ष २० कृषकका भैँसीगोठ सुधार, भैँसीलाई पानी खुवाउन १० वटा ह्यान्ड पम्प, घाँस खेतीका लागि १२ स्यालो ट्युबवेल जडान गरिने कार्यक्रमका सहजकर्ता रामलखन यादवले जानकारी दिए ।

 

कार्यक्रम लागू भएपछि भैँसीगोठ सुधार हुने अपेक्षा गरिएको छ । सरकारको सहयोग नहुँदा यहाँका कृषकले कच्ची गोठमा भैँसीपालन गर्दै आएका थिए । 

 

यादव समुदायको बसोवास भएको यस क्षेत्रमा मुख्य पेसाको रूपमा भैँसीपालन र तरकारी तथा खाद्यान्न खेती गर्ने गरिन्छ । गोठ सुधारका लागि ७०/३० साझेदारीमा प्रदेश सरकारबाट १ लाख ३५ हजार सहयोग गरिने कार्यक्रमका अध्यक्ष वंशीधर यादवले जानकारी दिए ।

 

कार्यक्रमअन्तर्गत जलवायु, सिँचाइ, प्रविधिमैत्री र बजार व्यवस्थापनमा सुधार हुनेछ । न्यूनतम ५ वटा भैँसी भएका कृषकलाई कार्यक्रममा समावेश गराइएको छ ।