close

दिप्रुङ चुइचुम्माका हाटबजार बन्द

दिप्रुङ चुइचुम्माका हाटबजार बन्द

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना महामारीका कारण खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन गाउँपालिकाको वडा नम्बर ५ सछितापोखरीस्थित पञ्चमी बजारमा हरेक सोमबार र वडा नम्बर ७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको हो ।

 

अर्को सूचना जारी नहुन्जेल साप्ताहिक रूपमा लाग्ने हाटबजार बन्द गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।  प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयअनुसार गाउँपालिकाले हाटबजार बन्द गरेको हो ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्म बन्द गर्ने÷गराउने निर्णय गरेको थियो । गत वर्षको लकडाउनका बेला खेर जाने अवस्थाका तरकारी गाउँपालिकाले खरिद गरेर राहतका रूपमा बाँडेको थियो ।

 

गत वर्षजस्तो अवस्था आए यसपल्ट पनि किसानको उत्पादनलाई क्षति हुनबाट बचाइने गाउँपालिका अध्यक्ष राईले बताए । 


दिक्तेल रुपाकोट मझुवागढीका विद्यालयको परीक्षा स्थगित 

 

कोभिड-१९ महामारीलाई लक्षित गर्दैै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । 

 

दिनानुदिन कोभिड-१९ को संक्रमण दर बढिरहेको अवस्थामा नगरपालिकाले १५ वैशाखदेखि हुने सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा, कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा र कक्षा १० को एसइई पूर्वतयारी परीक्षा स्थगित गरेको हो । 

 

कोरोना महामारी बढिरहेको अवस्थामा १३ वैशाखको मन्त्रिपरिषद्को निर्णयअनुसार नगरपालिकाले विद्यालय तहका सबै खाले परीक्षा अर्को सूचना जारी नहुन्जेल स्थगित गरेको जनाएको छ ।

 

परीक्षाका कारण विद्यालयमा हुने भीडभाडले कोभिड-१९ को संक्रमण फैलने खतरा भएकाले स्थगित गर्नु परेको नगरपालिकाले बताएको छ । 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि ४ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण फैलने खतरालाई दृष्टिगत गरी गाउँपालिकाले १५ देखि १९ वैशाखसम्म पठन-पाठन बन्द गर्ने निर्णय गरेको हो ।

 

पठन-पाठन बन्द भए पनि शिक्षकले भने विद्यालयमा नियमित रूपमा उपस्थित भएर परीक्षाको तयारी (प्रश्नपत्र निर्माण तथा व्यवस्थापन), शिक्षण सिकाइसम्बन्धी शैक्षिक सामग्री निर्माण एवं दैनिक प्रशासनिक काममा सहयोग गर्नुपर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । 

 

दिप्रुङ चुइचुम्माले यसअघि तोकिएको परीक्षा भने निर्धारित समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्दै यथावत् सञ्चालन गर्ने जनाएको छ । दिप्रुङमा २० वैशाखदेखि परीक्षा हुने मिति तय गरिएको छ ।