close

गाउँपालिका महासंघ र नगरपालिका संघको माग: स्थानीय तह गाभ्नेदेखि वडाको सिमाना चाँडै हेरफेर होस्

गाउँपालिका महासंघ र नगरपालिका संघको माग: स्थानीय तह गाभ्नेदेखि वडाको सिमाना चाँडै हेरफेर होस्

Trulli
ADVERTISEMENT

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

दुवै संस्थाले स्थानीय तहको आवधिक निर्वाचनको अवधि सकिन १ वर्ष मात्र बाँकी रहेको सन्दर्भमा उपरोक्त सवालको सम्बोधन गर्न संघीय सरकारले तत्काल प्रक्रियाको थालनी गर्नुपर्ने देखिएकाले मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचना आयोगमार्फत साविकका स्थानीय निकायलाई ७५३ गाउँपालिका तथा नगरपालिकामा पुनर्संरचना गरी निर्वाचन सम्पन्न भएकोसमेत ४ वर्ष पूरा हुन लागेको दुई संस्थाले स्मरण गराएका छन् ।


गाउँपालिका तथा नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्ने सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३ ले आवश्यक व्यवस्था गरेकाले गाउँपालिका तथा नगरपालिकाको संख्या र सिमाना, वडाको संख्या एवं सिमाना हेरफेर गर्नुपर्ने भए गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तीमा १ वर्षअगावै गरिसक्नुपर्ने व्यवस्था रहेको दुवै संस्थाले बताएका छन् ।

आयोगमार्फत पुनर्संरचना गरिएको कतिपय स्थानीय सरकारको वडा संख्या तथा विभाजन, वडाको सिमाना हेरफेर गर्न प्रस्तावसमेत आएको र कतिपय स्थानीय सरकारहरु एकापसमा गाभिने प्रक्रियामा जान इच्छुक रहेकाले यसलाई टुंग्याउन उनीहरुको आग्रह छ ।

स्थानीय तहको आवधिक निर्वाचनको अवधि सकिन १ वर्ष मात्र बाँकी रहेको सन्दर्भमा उपरोक्त सवालको सम्बोधन गर्न संघीय सरकारले तत्काल उपयुक्त प्रक्रियाको थालनी गर्नुपर्ने देखिएकाले मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराइएको दुवै संस्थाको भनाइ छ ।


साविकका स्थानीय निकाय र हालको स्थानीय तहको पुनर्संरचना गर्ने प्रक्रियामा स्थानीय तहका संघ–महासंघका तर्फबाट गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले कार्यदलमै रहेर महत्त्वपूर्ण भूमिका वहन गरेको स्मरण गराइएको छ ।

प्रस्तावित कार्यलाई प्रभावकारी रूपमा सम्पादन गर्न संघ, महासंघका तर्फबाट आवश्यक समन्वय र सहकार्य रहने प्रतिबद्धता गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठले जनाएका छन् ।