close

खोटेहाङले मनायो वार्षिकोत्सव 

खोटेहाङले मनायो वार्षिकोत्सव 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले पालिका स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, चौथो अध्यक्ष कप, अन्तरवडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट अंक ल्याएर एसईई उत्तिर्ण गर्ने विद्यार्थी, उत्कृष्ट कृषक समूहलाई पुरस्कृत गरियो ।

 

यस्तै, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समितिलाई पुरस्कृत एवं पूर्वगाविस अध्यक्षलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । वार्षिकोत्सवमा गाउँपालिका अध्यक्ष प्रदीप राईले पालिकाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । 

 

विद्यार्थीदेखि कर्मचारी पुरस्कृत 


खोटेहाङ गाउँपालिकाको वार्षिकोत्सव अवसरमा उत्कृष्ट कर्मचारी र शिक्षक गरी ३ जनालाई पुरस्कृत गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङ बजारका प्रमुख मनस राई र गाउँपालिकाको महिला विकास शाखा प्रमुख सिर्जना भट्टराईलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको हो ।

 

यस्तै, सिद्ध आधारभूत विद्यालय खोटाङ बजारका शिक्षक पर्शुराम ढकालले उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गरेका छन् । गाउँपालिकाभित्रका कर्मचारी र शिक्षकमध्येबाट उत्कृष्ट ठहरिएका राई, भट्टराई र ढकाललाई जनही ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । 

 

गाउँपालिकाले २०७६ को एसईई परीक्षामा जिपिए ल्याएर उत्तीर्ण हुने ३ जना छात्रछात्रालाई पुरस्कार प्रदान गरेको छ । ३.७७ जिपिए ल्याएर एसईई उत्तीर्ण गर्ने कृष्ण मावि बर्रेका गोपाल थापा, ३.७७ जिपिए ल्याएर एसईई उत्तीर्ण गर्ने सोही विद्यालयका अस्मिता थापा र ३.७५ जिपिए ल्याएर उत्तीर्ण हुने सावाकाली माविका सागर मगरलाई पुरस्कृत गरिएको हो ।

 

विद्यार्थीको प्रोत्साहनस्वरूप उत्कृष्ट विद्यार्थीलाई जनही ६ हजार ७७५ रुपैयाँका साथमा कदरपत्र प्रदान गरिएको छ । 


यस्तै, सामूहिक पशुपालनतर्फ उत्कृष्ट कृषक समूहको पुरस्कार वडा नम्बर ९ लिच्कीराम्चेको साकेवा बाख्रापालन कृषक समूहलाई र कृषितर्फको उत्कृष्ट कृषक समूहको पुरस्कार बर्रे प्रगतिशील कृषक समूहलाई दिइएको छ ।

 

व्यक्तिगत पशुपालनतर्फ खोटेहाङ वडा नम्बर ८ सिमपानीका रामकुमार पोखरेल र कृषितर्फ वडा नम्बर ६ इन्द्रेणीपोखरीका इन्द्रकुमार राईलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । 

 

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित योजनामध्ये प्रमोद राई अध्यक्ष रहेको उपभोक्ता समिति उत्कृष्ट घोषित भएको गाउँपालिकाले जनाएको छ । उत्कृष्ट कृषक समूह, उत्कृष्ट कृषक तथा उत्कृष्ट उपभोक्ता समितिलाई जनही ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र वितरण गरिएको हो ।

 

उत्कृष्ट कर्मचारी, शिक्षक तथा विद्यार्थी, कृषक समूह, कृषक र उपभोक्ता समितिलाई एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईलगायतले पुरस्कार तथा सम्मान प्रदान गरे । 


गाउँपालिकाले सम्झियो पूर्वगाविस अध्यक्षलाई 

 

खोटेहाङ गाउँपालिकाले बहुदल आएपछि गाविस अध्यक्षमा निर्वाचित भएका १० जना पूर्वगाविस अध्यक्षलाई सम्मान गरेको छ । २०४९ देखि २०५४ र २०५४ देखि २०५९ सम्म अध्यक्ष बनेका र हालसम्म जीवित रहेका पूर्वगाविस अध्यक्षलाई वार्षिकोत्सव अवसरमा सम्मान गरेको हो ।

 

गाउँपालिकाले २०४९ देखि २०५४ र २०५४ देखि २०५९ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको अध्यक्ष बनेका रञ्जनकुमार राई, २०४९ देखि २०५४ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ३ सावाकटहरेको अध्यक्ष बनेका भरत पोखरेल र २०५४ देखि २०५९ सम्म अध्यक्ष सम्हालेका मीनराज कोइरालालाई सम्मान गरेको छ । 

 

यस्तै, २०५४ देखि २०५९ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ५ चिप्रिङको अध्यक्ष बनेका मानबहादुर राई, २०४९ देखि २०५४ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणीपोखरीका अध्यक्ष बनेका छत्रबहादुर राई, २०४९ देखि २०५४ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङ बजारको अध्यक्ष सम्हालेका कमल फुयाल र २०५४ देखि २०५९ सम्म अध्यक्ष रहेका जगत बञ्जरा सम्मानित भएका छन् ।

 

२०४९ देखि २०५४ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिमपानीका अध्यक्ष बनेका जगतबहादुर खड्का र २०५४ देखि २०५९ सम्म अध्यक्ष बनेका दिपबहादुर थापा, २०५४ देखि २०५९ सम्म खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चेका अध्यक्ष बनेका अर्जुन गैरापिप्लीलाई सम्मान गरिएको छ । पूर्वगाविस अध्यक्षलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । 

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकलगायत उपस्थिति थिए ।