close

काेराेना संक्रमण नियन्त्रणमा सक्रिय हुन स्थानीय तहलाई निर्देशन

काेराेना संक्रमण नियन्त्रणमा सक्रिय हुन स्थानीय तहलाई निर्देशन

Trulli
ADVERTISEMENT

खोटाङ- जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड-१९ को महामारीका क्रममा संक्रमितको उपचार अभावमा अकालमै मृत्यु हुने अवस्था आउन नदिन स्थानीय तहलाई आग्रह गरेको छ ।

 

कोभिड-१९ को सम्भावित जोखिमको रोकथाम, नियन्त्रण तथा उपचारलगायत कार्यलाई प्रभावकारी बनाउँदै बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न गृह मन्त्रालयको १४ वैशाखको पत्रअनुसार जिल्ला प्रशासनले संक्रमितको उपचार सेवा प्रभावकारी बनाउन र उपचारको अभावमा अकालमा मृत्यु हुने अवस्था आउन नदिन आग्रह गरेको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले जारी गरेको पत्रमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको शीघ्र पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउन घुम्ती शिविर सञ्चालन गर्न आग्रह गरिएको छ ।

 

यस्तै, स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँचमा पहुँच, त्यसको निगरानी तथा अनुगमन, आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताबिनै आफूखुसी बस्दा अन्यलाई संक्रमण सर्ने जोखिम उच्च देखिएकाले होम आइसोलेसनमा बस्न सम्भव नहुने संक्रमितलाई सम्बन्धित स्वास्थ्य संस्थाको समन्वयमा संस्थागत आइसोलेसनको व्यवस्था गर्न आग्रह गरिएको छ । 

 

क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रलाई महिलामैत्री बनाउन, भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बस्न-बसाउन, होटल वा होम क्वारेन्टाइनमा बसे-नबसेको बारे अनुगमन गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई नियमित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

 

यसैगरी शिक्षालयमा भौतिक उपस्थितिमा नभई भर्चुअल वा वैकल्पिक माध्यमबाट मात्र पठनपाठन गर्न, भौतिक उपस्थितिमा हुने भनिएका पूर्वनिर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न भनिएको छ । 

 

कालोबजारी गर्नेलाई कारबाही 

 

जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ का बेला हुने कृत्रिम अभाव, महँगी र कालोबजारी नियन्त्रणमा पनि चासो देखाएको छ । कोभिड-१९ लाई कारण देखाएर दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, म्याद सकिएका खाद्यवस्तुको रि-लेबलिङ गर्ने व्यवसायीलाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

कोरोना संक्रमणको फैलावटसँगै बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुन थालेको सन्दर्भमा प्रशासनले बजार अनुगमनलाई तीव्रता दिने र कानुनविपरीत काम गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।