close

वालिङका विद्यालय बन्द

वालिङका विद्यालय बन्द

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरेको छ । वालिङ नगरपालिका कोभिड-१९ विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख दिलीपप्रताप खाँणको अध्यक्षताको बैठकले कोरोना महामारीको जोखिम वालिङमा पनि बढेको हुँदा सोको रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना जारी नहुँदासम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

 

विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमा गरिने पठनपाठनलाई भर्चुअलमार्फत गर्ने बैठकले निर्णय गरेको नगरप्रमुख खाँणले बताए । 

 

बैठकले मेला महोत्सव, सभा समारोह, गोष्ठी, विवाह, ब्रतवन्ध, अन्येष्टिजस्ता सामाजिक कार्य, धार्मिक एवं सांस्कृतिक कार्य सञ्चालन गर्दा २५ जना बढी नहुने गरी स्वास्थ्य मापदण्ड पालन गर्न र पार्टी प्यालेस सञ्चालन गर्नुपरे प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर मात्रै गर्न अनुरोध गरेको छ । 

 

कुनै पनि वडामा स्वास्थ्य संवेदनशीलता देखिए वडा कार्यसमितिले तत्काल बैठक बसी बचाउ अभियानका लागि आवश्यक निर्णय लिन सक्ने भएकाले सोहीअनुरूप अगाडि बढ्न पनि नगरप्रमुख खाँणले वडा अध्यक्षहरूलाई निर्देशन दिए ।
 


होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड तथा भौतिक दूरी कायम गरी सञ्चालन गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले कार्यालयमा भीडभाड कम गर्न कर्मचारीको आलोपालो प्रणालीमार्फत सेवा दिने एवं सेवाग्राहीलाई अनिवार्य मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

 

बैठकले भारत तथा तेस्रो मुलुकबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न र कोभिडको लक्षण देखिए एन्टिजिन वा पिसिआर जाँच गर्न सुझाएको छ । जाँचका क्रममा संक्रमण देखिएका व्यक्तिलाई नगरपालिकाको कोभिड-१९ अस्पताल या संस्थागत आइसोलेसनमा उपचार व्यवस्था गरिने नगरप्रमुख खाँणले बताए ।

 

नगरबासीलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन उनले आग्रह गरे । जनस्वास्थ्य नियम पालना नगरे संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुन सक्नेतर्फ उनले नागरिकलाई सचेत गराएका छन् ।