close

कोभिड-१९ विरुद्ध स्वयंसेवक नियुक्त गर्दै केपिलासगढी 

कोभिड-१९ विरुद्ध स्वयंसेवक नियुक्त गर्दै केपिलासगढी 

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन खोटाङको केपिलासगढी गाउँपालिकाले हरेक वडामा स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको छ ।

 

कोरोना तीव्र रूपमा बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी बनाउन कार्यपालिका, स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय, उद्योग वाणिज्य संघको बिहीबार बसेको बैठकले हरेक वडामा सेवा-सुविधा दिने गरी १-१ जना स्वयंसेवक नियुक्त गर्ने निर्णय गरेको हो । 


कोरोना महामारीका बीचमा पालिकाभन्दा बाहिरबाट गाउँ भित्रिने व्यक्ति होम क्वारेन्टाइनमा बसे-नबसेको अनुगमन गर्ने र सोको जानकारी वडा तथा पालिकालाई उपलब्ध गराउने, वडामा आइसोलेसन सेन्टर निर्माणका लागि पहल र समन्वय गर्ने, कोभिडबाट बच्न र बचाउन सचेतनामूलक गतिविधिलाई टोल-टोल पुर्‍याउने लक्ष्यका साथ वडा-वडामा कोभिड-१९ विरुद्धको स्वयंसेवक राख्ने तयारी गरिएको केपिलासगढीका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।

 

७ वटा वडा रहेको गाउँपालिकाले मासिक १५ हजार रुपैयाँ सेवा-सुविधा दिने गरी हरेक वडामा स्वयंसेवक राख्ने निर्णय गरेको हो । वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले स्वयंसेवक नियुक्त गरिनेछ ।


यस्तै, गाउँपालिकाले स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट चुडामणि जैसीलाई कोभिड फोकल पर्सन तोक्ने, फोकल पर्सनलाई प्रोत्साहनस्वरूप खाइपाइ आएको मासिक तलबभत्ताको २० प्रतिशत बराबरको रकम कोभिड कोषबाट उपलब्ध गराउने निर्णय भएको छ ।


यस्तै, क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई खटिएको दिनको दैनिक १ हजार रुपैयाँ प्रोत्साहनबापत सुविधा दिने, प्रत्येक वडाको स्वास्थ्य चौकीमा कोरोना हेल्थ डेस्क निर्माण गर्ने, हाल बाक्सिलामा बसपार्क रहेको जग्गामा क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय गरेको छ । 

 

पालिकाको प्राविधिक शाखाबाट लगत स्टिमेट तयार गरी १९ वैशाखदेखि क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माण सुरु गर्ने, क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माणका लागि आवश्यक सामग्री पालिकाले खरिद गर्नेलगायत निर्णय भएको गाउँपालिकाले जनाएको छ । 

 

१० दिनका लागि यातायात बन्द 


केपिलासगढी गाउँपालिकाले यातायात सेवा १० दिनका लागि बन्द गरेको छ । कोभिड-१९ को संक्रमण भित्रिने सम्भावना बढेकाले गाउँपालिकाले अत्यावश्यक सामग्री एवं निर्माणका सामग्री बोकेका सवारी साधनबाहेक अन्य किसिमका सवारी साधन आयजाउमा रोक लगाएको हो ।

 

यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा बुधबार बढी भीडभाड हुने भएकाले बन्द गर्ने, पालिकाभन्दा बाहिरबाट आउनेलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्ने, होम क्वारेन्टाइनमा बसे-नबसेको अनुगमन तथा निरीक्षण वडा कार्यालयले गर्ने, गैरसरकारी संघ-संस्था तथा वित्तीय संस्थाले गाउँ-गाउँमा सामूहिक रूपमा गर्दै आएको बैठक, भेला तत्काल बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।