close

ताराधारी आइसोलेसन केन्द्र पुनः ब्युँताइँदै

ताराधारी आइसोलेसन केन्द्र पुनः ब्युँताइँदै

Trulli
ADVERTISEMENT

उदयपुर- कोरोना महामारी बढ्दै गएपछि उदयपुरको कटारी नगरपालिकाले ताराधारीमा रहेको आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । कटारी नगरपालिका वडा नम्बर ३ ताराधारीमा आइसोलेसन केन्द्र पुनः स्थापना गर्ने निर्णय गरेको हो । 

 

नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले अस्थायी रूपमा पहिला सञ्चालित आइसोलेन केन्द्र मर्मत गरी जनशक्ति र उपकरण व्यवस्थासहित सञ्चालन गर्न लागिएको हो ।

 

कटारीले नगरका मुख्य नाकाबाट आएका यात्रुलाई स्वास्थ्य अवस्था तथा न्यूनतम सतर्कताका मापदण्डसहित हेल्थ डेस्क स्थापना गरी सुरक्षाकर्मीको टोली खटाउने निर्णय भएको छ ।

 

अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम तथा पसल तथा कार्यालयमा अनिवार्य स्यानिटाइजर व्यवस्था गर्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।

 

जोखिम क्षेत्रबाट आएका होम क्वारेन्टाइनमा बसे-नबसेको सम्बन्धित वडा कार्यालय तथा उद्योग वाणिज्य संघ तथा सरोकारवालाले निगरानी गर्ने निर्णय भएको छ । कटारीमा १६ वैशाखदेखि होटल, पसल तथा व्यवसाय बिहान ६ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । होटलमा बस्नेहरूले अनिवार्य अभिलेख राख्नुपर्नेछ ।

 

इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कार्यालय कटारी, सशस्त्र प्रहरी बेस क्याम्प कटारी, वडा कार्यालयका प्रमुख तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । 


कटारीका विद्यालयमा प्रत्यक्ष पठनपाठन बन्द

 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उदयपुरका सम्पूर्ण सामुदायिक, निजी तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको छ । प्रत्येक स्थानीय तहले सूचना जारी गरी आ-आफ्ना स्थानीय तहको बिद्यालय बन्द गर्न सूचना जारी गरेका हुन् ।

 

मन्त्रिपरिषद्को निर्णय, सिसिएमसीको विज्ञप्ति र शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको अनुरोधअनुसार विद्यालय बन्द गरिएको हो ।

 

विद्यार्थीमा संक्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरिएको हो । भौतिक पठनपाठन बन्द गरिए पनि वैकल्पिक शिक्षण सिकाइका माध्यम अपनाउन भनिएको छ ।