close

खोटाङमा फौजी किराको प्रकोप 

खोटाङमा फौजी किराको प्रकोप 

Trulli
ADVERTISEMENT

खोटाङ- विगतझैँ यो वर्ष पनि खोटाङका अधिकांश स्थानमा लगाइएको मकै बालीमा फौजी किरा (फल आर्मी वर्म) को प्रकोप देखिएको छ । २०७६ मा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा क्रमशः यो वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो । 

 

जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म जन्तेढुंगा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।  यादवका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको आक्रमण सबैभन्दा बढी देखिएको छ । 

 

कृषि ज्ञान केन्द्रका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा करिब १८ सय रोपनीमा, रावाबेँसीमा ९ सय रोपनीमा, साकेलामा ५ सय रोपनीमा, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४ सय रोपनीमा, ए‍ेँसेलुखर्क गाउँपालिकामा ४ सय रोपनीमा, केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा फौजी किराले क्षति पुर्‍याएको छ ।


यस्तै, बराहपोखरी गाउँपालिकामा १५० रोपनीमा, खोटेहाङ गाउँपालिकामा १५ रोपनी र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । 

 

कतिपय बेँसी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको छ । मकै उम्रिएर ३÷४ पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले आक्रमण गर्दा उत्पादन घट्ने हुँदा खाद्य संकट निम्तिने डरले किसान चिन्तित छन् । 

 

फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गरेको छ । फौजी किरा नियन्त्रणका लागि आकस्मिक प्रकोपको बजेटबाट विषादी मगाएर सम्बन्धित पालिकामा पठाइसकिएको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत यादवले जानकारी दिए ।

 

‘फौजी किरा नियन्त्रणका लागि विषादी खरिद गरेर सबैतिर पठाइसकिएको छ । पालिकाले पनि विषादित वितरण गर्दै छ,’ यादवले भने, ‘वडा-वडामा रहेका कृषि प्राविधिकमार्फत संयुक्त रूपमा वितरण हुन्छ । आधा कृषि ज्ञान केन्द्रको र आधा पालिकाको विषादी वितरण हुँदैछ ।’ हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । 

 

२०७६ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा, वडा नम्बर २ डिकुवा, वडा नम्बर ३ च्यास्मीटार, वडा नम्बर ११ राजापानीलगायत ठाउँमा लगाइएको बालीनाली तथा वनजंगलै सखाप पारेको अमेरिकन फौजी किराले २०७७ मा अधिकांश गाउँपालिकाको बेँसी क्षेत्रका मकै सखाप पारेको थियो ।

 

विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरिद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बर्सेनि बढिरहेको छ । 

 

प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ-नयाँ ठाउँमा फैलिने गरेको छ । बेँसी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप नदेखिएको किसान बताउँछन् ।

 

फौजी किराले खेतबारीमा भएका हरेक बालीनालीदेखि हरिया घाँसपातसमेत खाने गरेको छ । फौजी किराले खाएको बाली बिरुवा नबढ्ने र उत्पादन पनि शून्य हुन्छ ।

 

विषादी लगाउँदा फौजी किरा नियन्त्रणमा आउने अवस्था नदेखिएपछि गत वर्ष हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ च्यास्मीटारका कतिपय किसानले मकैको बोटबाट फौजी किरा संकलन गरेर कुखुरालाई खुवाएका थिए ।

 

कतिपय किसानले भने राती बारीको डिलमा आगो बालेर फौजी किराको पुतली जलाएर नियन्त्रणको प्रयास गरेका थिए । स्थानीय स्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन ।