close

मल्कवाङमा ठडियो वडा कार्यालय भवन

मल्कवाङमा ठडियो वडा कार्यालय भवन

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत २ तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको भवन निर्माण चालू आर्थिक वर्षमा सकिएको हो । 

 

बहुउद्देश्यीय सभाहलसहितको भवन निर्माणको काम सकिएपछि वडा कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् । कुल ६९ लाख रुपैयाँ लागतमा कार्यालय भवन निर्माण भएको उनले जानकारी दिइन् । 

 

आर्थिक वर्ष २०७४/७५ मा १९ लाख, २०७६/७७ मा १९ लाख ५० हजार र २०७७/७८ मा २८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । भवनको माथिल्लो तलामा कार्यालय, पदाधिकारी, सचिवको कार्यकक्ष र वडा सचिवको आवास बनाइएको छ । 

 

पक्की भवनको भुइँ तलामा १५० जना अट्ने क्षमताको सभाहल छ । यसअघि मल्कवाङमा वडाको आफ्नै भवन थिएन । युवा क्लबको साँघुरो भवनबाट कार्यालय सञ्चालन गरिएको थियो । 

 

भवन अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो । भेला, बैठक, सभा, सम्मेलन, तालिम, गोष्ठी सञ्चालन गर्न समस्या भएको थियो । धवलागिरि गाउँपालिकामा ७ वटा वडा छन् । 

 

गाउँपालिकाले लमसुङमा २ नम्बर र ताकमको ७ नम्बर वडाको कार्यालय भवन निर्माण गरिरहेको छ । साविक मुना गाविसको भवनमा गाउँपालिले कार्यालय राखेपछि वडा नम्बर ३ को पुरानो कच्ची भवनको एउटा कोठाबाट सञ्चालन भएको छ । 

 

वडा नम्बर १ गुर्जा र वडा नम्बर ४ मुदीको पनि आफ्नै भवन छैन । वडा नम्बर ६ को कार्यालय सञ्चालन भएको कुम्रीस्थित प्रगति आमा समूहको भवन गत असारमा पहिरोले बगाएको थियो । संघीयताको कार्यान्वयन र स्थानीय तह स्थापनापछि म्याग्दीमा ४ वटा नयाँ वडा कार्यालय भवन निर्माण भएका छन् । 

 

तत्कालीन जिविसले सुरु गरेको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ घार र वडा नम्बर ५ को कार्यालय गाउँपालिकाले पूर्णता दिएको छ । बुकेनीमा मंगला गाउँपालिकाले वडा नम्बर ४ को भवन निर्माण गरेको छ । 

 

मालिका गाउँपालिकाले डाँडागाउँमा वडा नम्बर ३ को कार्यालय भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिकाले सामुदायिक चोकमा वडा कार्यालय निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । 

 

अर्थुंगेमा नगरपालिकाको वडा नम्बर ६ कार्यालय भवन निर्माणाधीन छ । यसैगरी क्याम्पस कचोकमा वडा नम्बर ८ को कार्यालय सञ्चालन र बाढी व्यवस्थापन गर्ने उद्देश्यले घरजग्गा अधिग्रहण भएको छ ।