close

बेनीका कृषकलाई यान्त्रिक हलो कोसेली

बेनीका कृषकलाई यान्त्रिक हलो कोसेली

Trulli
ADVERTISEMENT

म्याग्दी- बेनी नगरपालिकाको वडा नम्बर ६ का कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । वडा नम्बर ६ को कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेट र योजना तथा कार्यक्रमअनुसार ३३ प्रतिशत अनुदानमा २७ वटा यान्त्रिक हलो वितरण गरेको हो । 

 

६० हजार रुपैयाँ मूल्य पर्ने डिजेलबाट चल्ने २७ वटा यान्त्रिक हलो वितरण गरेको वडाध्यक्ष कृष्णसिंह बानियाले बताए । वडा स्तरीय कृषकको उपभोक्ता समिति गठन गरेर विभिन्न १८ वटा कृषक समूहमार्फत संकलन गरिएको माग मूल्यांकन गरी कृषक छनोट गरिएको थियो । 

 

नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको यान्त्रिक हलो वितरण कार्यक्रममा कृषकले थप १० लाख रुपैयाँ लगानी गरेका छन् । कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो वितरण गरेको वडाध्यक्ष बानियाले बताए । 

 

पछिल्लो समय म्याग्दीका कृषकले खेतबारी जोत्न गोरुको विकल्पमा यान्त्रिक हलोको प्रयोग गर्न थालेका छन् । छिटो र कम श्रम तथा थोरै समयमा छिटो काम गर्न सकिने भएकाले यान्त्रिक हलोको प्रयोग बढेको कृषक अमृत पौडेल बताउँछन् । 

 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाध्यक्ष बानिया, कृषि शाखाका अधिकृत आकृति ढुंगानाले यान्त्रिक हलो वितरण कार्यक्रम सुरु गरेका थिए ।