close

उदयपुर जिल्ला प्रशासनमा आलोपालो सेवा 

उदयपुर जिल्ला प्रशासनमा आलोपालो सेवा 

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना महामारी बढ्दै गएको र १ जना अधिकृतलाई कोरोना पोजिटिभ देखिएपछि कार्यालयको सेवा आलोपालो गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार ऐन्टिजेन टेस्ट गर्दा जिल्ला प्रशासन कार्यालय उदयपुरका १ जना अधिकृतमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा छन् । 

 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले संक्रमित अधिकृतलाई खासै लक्षण नदेखिएकाले कार्यालयकै क्वार्टरमा होम आइसोलेनमा सुरक्षित रूपमा राखिएको जानकारी दिए । 

 

केही दिनदेखि कोरोना लक्षण देखिएपछि अधिकृत कोठामै बस्दै आएका थिए । ‘स्वास्थ्यमा सामान्य समस्या भएपछि आफैं जोगिएर बसेकाले अन्य कर्मचारीलाई खासै समस्या नहोला’, प्रमुख जिल्ला अधिकारी सेढाईंले भने, ‘कोरोना भाइरस परिपक्व हुन ७ दिन लाग्ने भएकाले बाँकी सबै कर्मचारीको सोमबारसम्म परीक्षण गर्छौं ।’

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार ऐन्टिजेन टेस्ट गर्दा एकै दिन ८ जनामा कोरोना पोजिटिभ देखिएको छ । कार्यालयले १४ जनाको परीक्षण गर्दा ८ जनामा पोजिटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । संक्रमित सबै त्रयुगा नगरपालिका वडा नम्बर १० र ११ का वासिन्दा हुन् । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् । 


प्रशासनले एकै दिन ८ जनामा कोरोना पोजिटिभ भेटिएपछि शनिबारबाट उदयपुरका ब्युटिपार्लर र सैलुन बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार ८ जना कोरोना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले जानकारी दिए । संक्रमित सबै पुरुष हुन् ।


उदयपुरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले शनिबारदेखि लागू हुने गरी सैलुन र ब्युटिपार्लर बन्द हुने सूचना प्रकाशित गरेको छ । पार्लर, सैलुनमा थप जोखिम र बढी संक्रमणको अवस्था रहेकाले बन्द गरिएको हो । 

कार्यालयले नियमित कामलाई आलोपालो गरेर मिलाएको छ । सम्भावित भीडलाई दृष्टिगत गरी कार्यालयबाट प्रदान गरिँदै आएका नागरिकता, प्रतिलिपि नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवालाई आइतबारदेखि लागू हुने गरी सबै पालिकालाई फरक-फरक ढंगले सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाएको प्रजिअ सेढाईंले बताए ।

 

प्रशासनले बेलका नगरपालिकालाई आइतबार र सोमबार, चौदण्डीगढी नगरपालिकालाई मंगलबार र बुधबार, त्रियुगा नगरपालिकालाई बिहीबार र शुक्रबार, लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकालाई कार्यालय खुला भएको सबै दिन सेवा उपलब्ध गराउने गरी आलोपालो व्यवस्था मिलाइएको छ । 

 

नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र राष्ट्रिय परिचयपत्रबाहेकका सबै सेवा कार्यालय खुला भएको दिन सञ्चालन हुने जनाएको छ । कार्यालयले संक्रमणलाई न्यूनीकरण गर्न ठूला होटल, पार्टी प्यालेस, होटल व्यवसायी सघं र सरोकारवाला निकायलाई पत्राचार गरी मेला, महोत्सव, जात्रा, पर्व, विवाह, धार्मिक अनुष्ठानलगायत सञ्चालन गर्दा २५ जना बढी नहुने गरी गर्न निर्देश जारी गरेको छ । 

 

प्रशासनले यातायात व्यवसायी कम्पनीलाई पत्राचार गरी लामो दूरीको यातायातबाट जिल्ला प्रवेश गर्ने यात्रु तथा सवारी साधनको विवरण दैनिक रूपमा डिसीसीएमसीमा पठाउनसमेत अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लामा स्वास्थ्य कार्यालयले पिसिआर र एन्टेजिनको माध्यमबाट परीक्षणलाई तीब्रता दिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए । उनका अनुसार उदयपुरमा शुक्रबार ८ जना कोरोना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।

 

 उदयपुरका संघीय सांसद सुरेशकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । राईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताउँदै सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । कोरोना पोजेटिभ पुष्टि भएसँगै सांसद राईको काठमाडौंस्थित अस्पतालमा सघन उपचारमा छन् ।