close

टोखाका किसानलाई नगरपालिकाको कृषि सामग्री 

टोखाका किसानलाई नगरपालिकाको कृषि सामग्री 

Trulli
ADVERTISEMENT

काठमाडौं- टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको २५ लाख गरी ५० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको हो । 

 

नगरपालिका प्रमुख प्रकाश अधिकारीले कृषकलाई २ वटा तालिमसहित औजार र दाना वितरण गरिएको जानकारी दिए । टोखाले आधुनिक प्रविधि अपनाएर गाईको दूध दुहुने मेसिन, गाईलाई बस्नका लागि ओछ्याउने म्याट, गोठ सफा गर्ने भ्याकुम स्टाइलको मेसिन, चेस्ट फ्रिजर, हिलटेक ट्यांकी र दाना वितरण गरेको छ । 


    
यसैगरी वडा नम्बर १ देखि ११ भित्रका पशुपालन गर्ने ४२ कृषक परिवारलाई उनीहरूको आवश्यकतानुसारको मेसिन र अन्य ४२ परिवारलाई दाना र गोठ सफा गर्ने मेसिन दिइएको छ । 

 

टोखाले पशुपालन गर्ने कृषकलाई हौसला बढाउँदै व्यावसायिक बनाउन र उनीहरूलाई आधुनिकीकरणमा लैजान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषि औजार सामग्री वितरण गरिएको जनाएको छ । 

 

नगरपालिकाले मानव सेवा आश्रम सामाखुसीलाई औषधी र स्वास्थ्य उपकरण सहयोग गरेको छ । टोखाले बिहीबार आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त सामग्री सहयोग गरेको हो । नगरप्रमुख अधिकारीले टोखाको आठौँ नगरसभाबाट भएको निर्णयअनुसार ५ लाख रुपैयाँ बराबरको औषधी र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

 

टोखाले अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, स्ट्रेचर, ह्विलचेयरलगायत विभिन्न ३८ प्रकारका औषधी र १७ प्रकारका औजार/उपकरण वितरण गरेको हो । मानव सेवा आश्रमले देशभरका सडकमा रहेका अनाथ बालबालिका तथा वृद्धवृद्धाको व्यवस्थापन गर्दै आएको छ ।

 

मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको आश्रमले देशभरका विभिन्न जिल्लामा कार्यालय सञ्चालन गरी सडकमा मानवमुक्त अभियान सञ्चालन गरेको छ ।