close

टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्दै

टोखामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

काठमाडाैं- टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । नगरपालिकाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना संक्रमण देखा परेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । 


नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नम्बर ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । ‘अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ’,  उनले भने । 

 

राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि वडा नम्बर २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ । 


पहिलो चरणमा कोरोना संक्रमणका बिरामीको उपचार गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणको उपचार गर्नेसमेत जनाएको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बिरामीको उपचार गर्न मिल्नेछ । 

 

यस्तै, नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ । उक्त नगरपालिकाले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रीनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुसी, विनायक अस्पताल तथा प्रसूतिगृह गोंगबुसँग टोखाभित्रका संक्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । टोखामा ११ वडा रहेका छन् ।