close

जुम्लामा अनुदानको चामल अभाव 

कोभिडको वहानामा कालोबजारी 

जुम्लामा अनुदानको चामल अभाव 

कोभिडको वहानामा कालोबजारी 

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव हुने संकेत देखिएको छ । कोरोना संक्रमण बढेसँगै विपद् र्सिजना हुन थालेपछि यहाँका नागरिक खाद्यान्नको अभावमा पर्ने गरेका छन् । 

 

तातोपानी गाउँपालिका वडा नम्बर ७ का अनिल रावतका अनुसार गाउँका विकट बस्तीबाट खाद्यमा चामल लिन आउनुपर्दछ । ‘तर, चामल अभावका कारण पाइने गरेको छैन’, उनले भने, ‘बजारमा किनाैँ थेगिनसक्नु महँगो छ ।’ 


गाउँका खाद्य डिपोमा चामल नआएको वर्षौं बित्यो । चामल पाउने आशमा सदरमुकामको खाद्य संस्थानमा आउँदा सकिएको जवाफ पाइएको उनको गुनासो छ ।

 

खाद्य संस्थान व्यापार कम्पनीको केन्द्रीय कार्यालयले जुम्लाको जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । २ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले ढुवानी नगर्दा समस्या भएको स्थानीय बताउँछन् । 

 

जुम्लाको खाद्य व्यापार कम्पनीमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यापार कम्पनी जुम्लाका तिलक सुनारका अनुसार खाद्य गोदाम रित्तिन थालेका छन् । ‘अहिले गोदाममा ८८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए २ दिनमै सकिन्छ’, उनले भने, ‘अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।’ जुम्लाको वार्षिक चामल कोटा ५६५० क्विन्टल हो । प्रमुख सुनारका अनुसार यसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनुपर्दछ । 

 

‘जुम्लाका लागि ४२५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि पुग्दैन । चालू आर्थिक वर्षको ३ महिना अझै बाँकी छ । वैशाखमै चामल सकिन थालेपछि खाद्यमा पुगेका स्थानीयलाई रित्तै पठाउनुपर्ने अवस्था छ’, उनले भने । ५१९३ क्विन्टल ढुवानी भई वितरण भइसकेको छ । ठेकेदारले ४५६ क्विन्टल मात्रै ढुवानी गर्न बाँकी रहेको उनले जानकारी दिए । 

 

‘नयाँ आर्थिक वर्षको चामल आउन असोज कात्तिक कुर्नुपर्दछ’, उनले भने, ‘नयाँ आर्थिक वर्षको चामल ढुवानी प्रोसेसिङमै २/३ महिना बित्छ । पुरानो चामलले नै ढुवानी प्रोसेसिङको महिना थेग्नुपर्ने हो । तर, अहिले नै चामल सकिन थालेको छ ।’


 
जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ । 

 

कोभिडको वहानामा कालोबजारी 


जुम्लामा व्यापारीले कोभिडको वहानामा कालोबजारी गर्न थालेका छन् । कोरोना संक्रमणले नाका बन्द भएर सामान ढुवानी नभएको बताएर उनीहरूले कालोबजारी गर्न थालेका हुन् ।  पुरानै गोदाममा भएका सामान बेचेर मूल्य बढेर आएको छ भन्दै दिनप्रतिदिन मूल्य बढाएको उपभोक्ताको गुनासो छ । 


व्यापारीले अहिले तेल, चिनी, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गर्ने गरेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘यतिबेला राज्यका जिम्मेवार निकायले कालोबजारी नियन्त्रण गर्नुपर्नेमा त्यसो भएको देखिएन ।’ 

 

जुम्लाका सानाठूला व्यापारीले तेल, चिनी, ग्यास सिलिन्डर, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी रूपमा बढाएपछि उपभोक्ता मारमा परेका हुन् ।

 

वैशाख पहिलो सातासम्म प्रतिकार्टुन २१ सय रुपैयाँमै बिक्री भइरहेको स्वास्तिक खानेतेल कोरोना संक्रमण बढेसँगै एकाएक २ हजार ४ सय रुपैयाँसम्म पुगेको छ । चिनी प्रतिबोरा ४ हजार मूल्य भए पनि १३ देखि १७ वैशाखसम्म ६ सयले वृद्धि भएर ४ हजार ६ सय रुपैयाँ पुगेको छ ।

 

आधा लिटर खानेतेलकै १ सय १० रुपैयाँ भएकामा अहिले उपभोक्ता १४० रुपैयाँसम्म मूल्य तिर्न बाध्य छन् । धारा तेलको मूल्य झनै अकासिएको छ ।


कोरोना संक्रमण बढ्दै गएको मौका छोपी कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताबाट ठग्ने मनसायका साथ मूल्यवृद्धि गर्ने व्यापारी, डिलरलाई तत्काल कारबाहीको दायरामा ल्याउन नागरिक समाजको जोड छ ।

 

चन्दननाथ नगरपालिका वडा नम्बर ७ का कर्मराज नेपालीले भने, ‘सामान्य नागरिकलाई तेल किनेर खानसमेत मुस्किल भएको छ । दैनिक सय रुपैयाँको कमाइ छैन । काम गरौँ काम छैन । अहिले खानेतेल नै प्रतिप्याकेट १३० देखि १४० रुपयाँसम्म पर्न थाल्यो ।’

 

दैनिक उपभोग्य वस्तुको उत्पादन घटेपछि मूल्यवृद्धि भएको व्यापारीको दाबी छ । गत वर्षभरि कोरोना कारण उत्पादनशील उद्योग सबै बन्द भए भने कृषि क्षेत्र पनि ठप्प भएपछि कच्चा पदार्थ अभावका कारण मूल्यवृद्धि भएको उनीहरूको तर्क छ ।


उत्पादन घटेपछि मूल्यवृद्धि भयो

 

व्यापारी मीनप्रसाद पौडेलले उत्पादन घटेकै कारण तेल, चिनीमा थोरै मूल्यवृद्धि भएको बताए । उनका अनुसार खानेतेल प्रतिकार्टुन २२ सय ५० रुपैयाँसम्म बढेको छ । ‘बजारमा २४ सय ५० रुपैयाँसम्म लिएको कुरा सुनियो । हामीले प्रिन्ट मूल्यमै बिक्री गरेका छौँ । साना व्यापारीलाई अनुगमन गर्नुपर्छ । तर, धारा तोरी तेलको मूल्य झनै बढेको छ ।’

 

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागार्इंले बजारमा अस्वाभाविक मूल्यवृद्धिको गुनासो आएको र विपद् व्यवस्थापन समितिको बैठकबाट समिति खडा गरी तत्कालै अनुगमनलाई अघि बढाइने जानकारी दिए । ‘सामानको मूल्यको बढेको हो वा व्यापारीले आफूखुसी नाफा कमाउन खोजेका हुन् । अनुगमनमार्फत दोषीलाई कारबाही गर्छौं’, उनले भने । 

 

आयोगको अनुगमन 


राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले खाद्यान्न अभावका विषयमा अनुगमन गरेको छ । आयोगको एक टोलीले जिल्लास्थित खाद्य व्यापार कम्पनीको शाखा कार्यालय जुम्लामा अनुगमन गरेको हो । 

 

आयोग जुम्लाका मानव अधिकार अधिकृत धनराज शाहीका अनुसार कोरोना विपद् बेला खाद्य अभाव हुन नदिन राज्यका जिम्मेवार निकायले व्यवस्थापन गर्नुको विकल्प छैन । यस विषयमा आयोगको केन्दीय कार्यालयमा पनि रिपोर्ट गर्ने उनको भनाइ छ । रिपोर्टका आधारमा आयोगको केन्द्रीय कार्यालयले मन्त्रालयको पनि ध्यानाकर्षण गराउनेछ ।