close

त्रियुगाको राजस्व संकलन ६४ प्रतिशत 

त्रियुगाको राजस्व संकलन ६४ प्रतिशत 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको चालू वर्षको राजस्व संकलन ६४ प्रतिशत भएको छ । कोभिडले थलिएको अर्थतन्त्रमा नगरपालिकाले चालू आर्थिक वर्ष उत्साहजनक रूपमा राजस्व संकलन गरेको हो । 


आर्थिक वर्ष सुरुका ९ महिना (चैत) सम्म लक्ष्यको झन्डै दुई तिहाइ राजस्व संकलन भइसकेको छ । त्रियुगाले चालू आर्थिक वर्ष ९ करोड ३७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

 

चैत मसान्तसम्म ५ करोड ६५ लाख ९४ हजार ९ सय १० रुपैयाँ संकलन भइसकेको नगरपालिकाले जनाएको छ । अहिलेसम्म लक्ष्यको ६४ प्रतिशत हाराहारी राजस्व संकलन भइसकेको छ । अहिलेको अवस्थामा राजस्व संकलन भए आउँदो असारसम्म लक्ष्यभन्दा बढी हुने अनुमान नगरपालिकाको छ । 

 

वैशाख, जेठ र असार बढी राजस्व संकलन हुने महिना हो । वर्षको सुरु ४ महिना (साउन-कात्तिक) कोभिड कहरले अर्थतन्त्र धराशयी बनाएकाले राजस्व संकलन धेरै कम भए पनि मंसिरयता गति लिएको थियो । 

 

सुरुमा निराशाजनक भए पनि मंसिरदेखि संकलनले गति लिँदै उत्साहजनक हुन गएको नगरपालिकाका राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकालले बताए । आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी रहेकाले लक्ष्यभन्दा बढी राजश्व संकलन हुने अपेक्षा नगरपालिकाको छ । 


नगरपालिकाले सबभन्दा बढी राजस्व विभिन्न १० शीर्षकमा उठाएको ढकालले जानकारी दिए । उनका अनुसार रजिस्ट्रेसन शुल्क, एकीकृत सम्पत्ति कर, प्राकृति स्रोत उपयोग कर र घाटगद्दी बिक्री शीर्षकमा सबैभन्दा धेरै राजस्व संकलन भएको छ । 


सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कबापत ९५ लाख रुपैयाँ उठेको छ भने एकीकृत सम्पत्ति करबाट ५५ लाख ३५ हजार ७ सय ९९ रुपैयाँ संकलन भएको छ । त्यस्तै, नदीजन्य पदार्थ बिक्रीबापत प्राकृतिक स्रोत उपयोग कर ९३ लाख ३० हजार १ सय ३३ रुपैयाँ संकलन हुँदा घाटगद्दी बिक्रीबाट ६८ लाख १० हजार ६ सय ५१ रुपैयाँ उठेको ढकालले बताए ।

 

यी दुई शीर्षक नदीजन्य पदार्थको करबापत मात्र नगरले १ करोड ६१ लाख ४० हजार ७ सय ८४ रुपैयाँ उठाएको छ । व्यवसाय करबापत नगरपालिकाले ५८ लाख ८१ हजार ९ सय १५ रुपैयाँ संकलन गर्दा घर नक्सा पास दस्तुरबापत ५० लाख २१ हजार ४ सय १२ रुपैयाँ उठेको छ । 

 

सिफारिस तथा बक्सौनी दस्तुरबापत २८ लाख ११ हजार ८ सय ९० रुपैयाँ संकलन भएको छ । १० प्रतिशत लिने गरिएको घर वहाल कर २० लाख ९ हजार १८ संकलन भएको छ भने घरबाटो सिफारिस दस्तुरबापत अहिलेसम्म १९ लाख ७७ हजार २ सय ४५ रुपैयाँ संकलन भएको छ । 

 

उद्योग उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित प्रतिबोरा १ रुपैयाँ लिइने सिमेन्ट प्रदूषण शुल्क शीर्षकमा नगरपालिकाले १६ करोड १९ लाख ४ सय ८१ रुपैयाँ संकलन गरेको जनाएको छ । त्यसैगरी सिमेन्ट निकासी करबापत १० लाख ७९ हजार ६ सय ५४ रुपैयाँ संकलन भएको छ । विभिन्न ठेक्कापट्टाबापत राखेको धरौटी जफतबाट नगरले १२ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।