close

धन कमाउन मलेसिया गएका कामी सम्पर्कविहीन, प्रशासनमा परिवारको गुहार 

धन कमाउन मलेसिया गएका कामी सम्पर्कविहीन, प्रशासनमा परिवारको गुहार 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- वैदेशिक रोजगारीमा गएका रुकुम पूर्वका एक व्यक्ति १ वर्ष वर्षदेखि सम्पर्कविहीन भएका छन् । घरको मुख्य मान्छे १ वर्षदेखि सम्पर्कविहीन हुँदा घरमा परिवारको विचल्ली भएको छ । 

 

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका दात कामी धन कमाउने आशा बोकेर मलेसिया गएको २ वर्ष बित्यो । घरमा लागेको ऋण तिर्ने र परिवार पाल्ने आशा बोकेर अर्काेको देशमा गएको मान्छे कुन अवस्थामा छ, थाहा नपाउँदा परिवार चिन्तामा परेको छ । कामीकी श्रीमती प्रेमकुमारी कामीका अनुसार ४० वर्षीय श्रीमान् यसअघि ३ वर्ष विदेश बसेर फर्किएका थिए । 

 

‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो’ प्रेमकुमारीले भने, ‘सोही घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन पैसा कमाउने सपना बोकेर उहाँ पुनः मलेसिया जानुभयो । त्यहाँ गएको १ वर्षसम्म पैसा पठाउनुहुन्थ्यो । तर, त्यसपछि सम्पर्क छैन ।’ 

 

घरमा ३ जना छोराको पढाई खर्च जुटाउन आमालाई हम्मेहम्मे परेको छ । त्यसमाथि एउटा छोरा अपांग । उनको उपचार गर्दा छुट्टै ऋण लागेको पे्रमकुमारीले सुनाइन् । उनकी दिदी कमला कामी भन्छिन्, ‘मेरो भाइ १ वर्षदेखि फोन पनि गर्दैन । कसैले भेटाएका पनि छैनन् । कुन ठाउँमा होला । अवस्था थाहा पाउन सकिएन ।’ 

 

कामीले मलेसियामा वेस्ट्रिज स्टार एसडीएन बिएचडी कम्पनीमा सामान्य कामदारको रूपमा काम गरिरहेका थिए । उक्त कम्पनीमा पनि १ वर्षदेखि सम्पर्कविहीन भएको उनका साथीहरूले बताएको परिवारले जनाएको छ ।

 

खोज्दाखोज्दै नभेटिएपछि घरपरिवारले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा शुक्रबार निवेदन दिएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार राईले खोजतलासका लागि पहल गर्ने बताए ।