close

संक्रमित महिलाले कपिलवस्तु अस्पतालमा जन्माइन् बच्चा 

संक्रमित महिलाले कपिलवस्तु अस्पतालमा जन्माइन् बच्चा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- प्रसूतिका लागि बेड नपाएकी कोरोना संक्रमित महिलाले कपिलवस्तु अस्पताल तौलिहवामा बच्चा जन्माएकी छन् । प्युठान घर भई हाल बुटवल बस्दै आएकी महिलाले गत बिहीबार राती बच्चा जन्माएकी हुन् ।

 

संक्रमित भएका कारण अस्पतालका ३ वटामध्ये एउटा अप्रेसन कक्षमा उनको उपचारका लागि अलग्गै बन्दोबस्त मिलाइएको थियो । गत सोमबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसूतिका लागि आएकी थिइन् । पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । 

 

संक्रमित भए पनि उनलाई लक्षण भने देखिएको थिएन । बिहीबार राती पेट दुख्न थालेपछि प्रसूतिका लागि अस्पताल खोजिएको थियो । कोभिड अस्पतालमा बेड नपाएपछि उनलाई राती ९ः३० बजे तौलिहवा अस्पतालमा रेफर गरिएको थियो । 

 

एम्बुलेन्सको सहायताले अस्पताल पुर्‍याएलगत्तै अप्रेसन गरिएको थियो । राती ९ः५७ मा बच्चा निकालिएपछि ३ घन्टा ३० मिनेटमा शल्यक्रिया सम्पन्न भएको अस्पतालका क्लिनिकल को-अर्डिनेटर डा. गणेश क्षेत्रीले बताए ।

 

नवजात शिशुको तौल ३ किलो २४० ग्राम छ । उनको दोस्रो सन्तानको रूपमा छोराले जन्म लिएको हो । ‘यस्तो केस हाम्रा लागि पहिलो र चुनौतीपूर्ण थियो । संक्रमित भएकालाई पहिलो पटक शल्यक्रिया गरेका थियौँ । स्वास्थ्य मापदण्ड अपनाउँदै आमाबाट बच्चामा संक्रमण नसर्ने गरी शल्यक्रिया गरेका थियौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले भने ।

 

प्रसूति पीडा भएका बेला कोरोना संक्रमित भएपछि ती महिलाको उपचार चुनौतीपूर्ण रहे पनि सफल उपचार गर्न सकिएको उनले सुनाए ।

 

हाल आमा र बच्चा दुवैलाई अलग-अलग राखिएको छ । दुवैको अवस्था सामान्य छ । शल्यक्रियामा कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे, डा. पुनम लामा, डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेशकुमार महतो, नर्सिङ कर्मचारी रविना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशालगायत टोली सहभागी थियो । तीमध्ये महतोबाहेक सबै गत भदौ र कात्तिकमा कोरोना संक्रमित भई निको भएका हुन् ।