close

दिक्तेल रुपाकोटका ४० जनालाई घरबास तालिम 

दिक्तेल रुपाकोटका ४० जनालाई घरबास तालिम 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका धार्मिक तथा पर्यटकीय स्थल आसपासका व्यवसायी एवं स्थानीयलाई होमस्टे (घरबास) तालिम दिइएको छ । 

 

स्थानीय स्तरमा स्वरोजगार अभिवृद्धि गर्दै पर्यटनको दिगो विकास गर्ने लक्ष्यका साथ नगरपालिकाभित्र पर्ने बुईपा-महुरे-नुनथला-हुर्लुङ-मुढे-तालखर्क-भुलभुले जोड्ने सडक आसपासका होटल व्यवसायी एवं स्थानीयलाई होमस्टे तालिम दिइएको हो । 

 

आफ्ना घर एवं समुदायमा निजी वा सामूहिक रूपमा पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्दै आर्थिक आयआर्जनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोग र नगरपालिकाको प्रवद्र्धनमा खोटाङ उद्योग वाणिज्य संघले नगरभित्रका ४० जनालाई सहभागी गराएर होमस्टे तालिम आयोजना गरेको हो ।

 

१ साताका लागि आयोजना गरिएको तालिम कोभिड-१९ महामारीका कारण २ दिनअघि सकिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । ‘संस्कार, संस्कृतिको प्रवर्द्धन, पर्यटक पाहुनाको सत्कारबाट आयआर्जन’ नारासहित मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेलको मुढेमा आयोजना गरिएको होमस्टे तालिम १३ वैशाखमा नगरपालिका प्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपामा निर्माणाधीन यलम्बर पार्क, महुरे, नुनथला, हुर्लुङ, रुपाकोट भ्यू टावर, मझुवागढी, पेनटावर, भुलभुले दूधकुण्ड देउधामलगायत पर्यटकीय स्थल आसपास होमस्टेको सम्भावनालाई ध्यान दिएर तालिम आयोजना गरिएको वाणिज्य संघका अध्यक्ष राईले बताए । 

 

तालिममा सहभागीलाई पर्यटन र पर्यटकसम्बन्धी आवश्यक जानकारी, होमस्टे सञ्चालन तथा व्यवस्थापन, पाहुनाको स्वागत र सत्कार, सरसफाइ, स्थानीय स्तरमा उत्पादन हुने खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार, स्थानीय पर्यटकीय गतिविधि आदिबारे जानकारी दिइएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रशिक्षक समिक शर्माले जानकारी दिए ।

 

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानमा होमस्टे व्यवस्थापन तथा स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको उपयोग गरी पर्यटकलाई पारिवारिक वातावरणमा सत्कार र सेवा उपलब्ध गराउँदै स्थानीय कला, संस्कृति तथा पर्यटकीय गतिविधिसम्बन्धी आवश्यक जानकारी गराउन होमस्टे तालिम उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । 

 

‘तालिममा पर्यटन र पर्यटकको महत्त्वबारे जानकारी गराएका छौँ । आफ्नै बासस्थानलाई व्यवस्थित गरी होमस्टे कार्यक्रम सञ्चालन गर्न, पर्यटकलाई दिइने सेवा-सुविधा तथा आतिथ्यबारे सामान्य परिचय दिएका छौँ,’ प्रशिक्षक शर्माले भने, ‘पर्यटकको रुचिअनुसार स्थानीय स्तरमा खाद्य तथा पेय पदार्थ तयार गर्न र सेवा दिन सिकाएका छौँ ।’