close

महाभारतले बनायो ४ वटा वडाको पक्की भवन

महाभारतले बनायो ४ वटा वडाको पक्की भवन

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको विकट महाभारत गाउँपालिकाले सबै वडामा पक्की वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । 

 

वडा कार्यालयका लागि प्रयोगमा ल्याइएका भाडाको कोठा कच्ची घर तथा सानो साँघुरो कोठाबाट काम चलाउनुपर्दा सेवाग्राहीलाई सहजता नहुने र कागजातको समेत सुरक्षामा समस्या हुने भएकाले पक्की भवन निर्माणलाई तीव्रता दिइएको पालिकाले जनाएको छ ।

 

अहिलेसम्म ४ वटा वडा कार्यालयको भवन निर्माण भइसकेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । त्यसका लागि बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति काभ्रे र गाउँपालिकाबाट गरी ८ वटा वडा भवन निर्माणका क्रममा रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । 

 

उनका अनुसार वडा नम्बर २, ३ ५ र ७ को वडा कार्यालय प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भइसकेको छ भने बाँकी १, ४, ६ र ८ को जिल्ला समन्वय समिति काभ्रे र गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको हो ।

 

जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाका सबै वडामा वडा कार्यालय भवन निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ । वडा नम्बर ५ चारकिल्लामा वडा कार्यालयका लागि पक्की भवन निर्माणपछि बुधबार उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । 

 

वडा कार्यालयको भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन कठिनाइ झेल्नु परेकामा अब कार्यालय भवन बनेपछि सहज भएको वडा नम्बर ५ का वडाध्यक्ष रविन मोक्तानले बताए ।

 

बागमती प्रदेश सरकारको विशेष अनुदानमा पालिकाका ४ वटा वडाको भवन निर्माण गरिएको वडा भवन नै यो पहिलो हो । त्यस्तै, गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालय गत मंगलबार उद्घाटन आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

 

वडा नम्बर २ को स्याप्लेडाँडामा कार्यालय भवन निर्माणपछि गाउँपालिका अध्यक्ष जिम्बाले उद्घाटन गरी सेवा प्रवाह सुरु भएको वडाध्यक्ष मीनबहादुर वाइबाले बताए ।

 

वडा नम्बर ३ को कार्यालय पनि निर्माण सम्पन्न भएर ९ वैशाखपछि सेवा दिन थालेको छ । वडा नम्बर ७ को कार्यालय पनि निर्माण सम्पन्न भइसकेकाले अब छिट्टै सेवा दिने तयारी गरिएको वडा कार्यालयले बताएको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टका अनुसार निर्माणाधीन वडा कार्यालयमध्ये वडा नम्बर १ को डिपिसी भइसकेको, वडा नम्बर ६ को एउटा ढलान भइसकेको, वडा नम्बर ८ को ढलान भइसकेको र वडा नम्बर ४ को २ वटा ढलान गर्ने प्रक्रियामा छ । 

 

उनका अनुसार निर्माणाधीन सबै कार्यालयको यही असार मसान्तभित्र निर्माण सम्पन्न गरी आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी छ ।