close

चिसापानी-जंगलघाट-मंगलसेन सडक: ५० वर्षपछि खोलियो ट्रयाक 

चिसापानी-जंगलघाट-मंगलसेन सडक: ५० वर्षपछि खोलियो ट्रयाक 

Trulli
ADVERTISEMENT

अछाम- अछामका पञ्चायतकालीन विकासप्रेमी नेता स्व. हरिप्रसाद भण्डारीको सपना साकार हुने भएको छ । अछाम जिल्ला पञ्चायत सभापति स्व. भण्डारीले देखेको परिकल्पना गरेको चिसापानी-जंगलघाट-मंगलसेन सडकको ट्रयाक खुलेर मोटरसाइकल चल्न थालेका छन् । 

 

५० वर्षअघि मोटर बाटो निर्माणको अवधारणा अघि सारेका तत्कालीन जिल्ला सभापति स्व. भण्डारीले हरेक गाउँका महिला, पुरुषले श्रमदानबाट चिसापानीबाट सडक खन्दै २०२४ मा जिल्ला सदरमुकाम मंगलसेनमा मोटर पुर्‍याएका थिए ।

 

चिसापानीदेखि अछाम पुग्ने छोटो गन्तव्यका रूपमा स्थानीयलाई बाटो खन्न लगाएरै भए पनि पहिलो पटक राजा महेन्द्रसँग माग गरेको गाडी काठमाडौंबाट चिसापानी हुँदै २४ चैत २०२४ मा सदरमुकाम मंगलसेन पु¥याएका थिए ।

 

त्यसपछि २०२८ मा स्व. भण्डारीले चिसापानी-जंगलघाट-मंगलसेन ट्रयाक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए । राजा महेन्द्रको पालामा सडकको योजना बने पनि पञ्चायत हुँदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदा मूर्त रूप लिन ५० वर्ष कुर्नुपर्‍यो ।

 

स्वर्गीय भण्डारीको योजनाअनुरूप नै हाल अछाम खण्ड र सुर्खेत खण्डमा सडक निर्माणको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि मोटरसाइकल चल्न थालेका छन् । अछाम खण्डमा यसअघि नै सडक निर्माण भइसके पनि सुर्खेतमा १ हजार ५ सय मिटर सडक काट्ने काम भर्खरै सकिएपछि मोटरबाइक कुद्न थालेका हुन् ।

 

तर, कर्णाली नदीमा पक्की पुल निर्माण भने सुरु भएकै छैन । पुल निर्माण नभए पनि अहिले दुवैतर्फको सडक बनेपछि झुलंगे पुलमार्फत मोटरसाइकलबाटै अछाम, कैलाली यात्रा गर्न सहज भएको छ ।

 

जंगलघाटमा पक्की पुल बनाउने काम बाँकी रहे पनि मोटरेबल पुल निर्माणका लागि ठेक्कापट्टा सुरु भएको सडक विभागको पुल महाशाखाले जनाएको छ । सम्झौताको ३ वर्षभित्र मोटरेबल पुल निर्माण गरिसक्नुपर्नेछ ।

 

सरकारले अछामको मंगलसेन-जंगलघाट-चिसापानी सडक खण्डको जंगलघाटमा ५० वर्षपछि पुल निर्माण गरिदिएपछि छोटो दूरीमा कैलालीसँग अछाम जोडिनेछ । अछाम र सुर्खेतबीच जंगलघाटस्थित कर्णाली नदीमाथि मोटरेबल पुल निर्माण प्रक्रिया सुरु भएसँगै फास्ट ट्रयाक सडकले ५० वर्षपछि पूर्णता पाउनेछ ।

 

‘कर्णाली नदीमा पुल बनेपछि ठूला गाडी चल्न थाल्नेछन् । सडक खण्डका अन्य भागम निर्माण सकिएको छ । त्यही कर्णालीमा पुल बन्न बाँकी छ’, तुर्माखाँद गाँउपालिका अध्यक्ष पुष्पराज शर्माले भने, ‘पुल बनेपछि अछामको विकासले गति लिनेछ ।’ 

 

जंगलघाटमा पुल निर्माणका लागि २ ठाउँमा सर्भे भइसकेको र ठेक्काको काम अघि बढेको सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले बताए । सदरमुकाम मंगलसेनबाट करिब १२० किलोमिटरमा कैलालीको चिसापानी पुग्न सकिनेछ । हाल मंगलसेनबाट ३१० किलोमिटर जोखिमपूर्ण सडकबाट धनगढी पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

 

२०२८ यता देशमा विभिन्न परिर्वतन भए तर अछामका राजनीतिज्ञ तथा सरकारले समेत चासो नदिँदा बाटो बन्न ५० वर्ष लागेको मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं स्व. भण्डारीका नाति जनक भण्डारीले सुनाए ।

 

जंगलघाटमा पुल निर्माणपछि तराई र पहाड सजिलैसँग जोडिएर यहाँका नागरिकलाई व्यापार, व्यावसाय गर्न सहज हुने भण्डारीको भनाइ छ । ‘तराईसँगको सहज पहुँचले कृषि, सीप, सेवा र उत्पादन आदान-प्रदान हुँदा आर्थिक वृद्धिले गति लिने अपेक्षा छ’, भण्डारीले भने ।

 

छोटो दूरीको सो सडकको पुल तोकिएकै समय निर्माण हुन सके अछामसहित बाजुरा, डोटी र कर्णालीका दैलेख, कालीकोट र जुम्ला,हुम्ला, मुगुसम्म सहज सडक बन्नेछ । २ वटा प्रदेशसँगै तराईमा भारत र पहाडमा चीनलाई जोड्न सकिने सो मार्ग रणनीतिक सडक हो ।

 

‘तत्कालीन जिल्ला पञ्चायत सभापतिको विकासप्रति तीव्र इच्छा थियो । उनले सडकसँगै अछाम र समग्र सुदूरपश्चिमको विकासका लागि योगदान गरेका थिए । डोटी, अछाम एउटै जिल्ला हुँदा अछामलाई छुट्टै पहिचानसहितको जिल्ला बनाउन उनले नेतृत्व लिएका थिए ।