close

नौमतिमै रम्छन् जैमिनीका मगर समुदाय

नौमतिमै रम्छन् जैमिनीका मगर समुदाय

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको जैमिनी नगरपालिका वडा नम्बर २ दमेक भातडाँडाका सूर्यबहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याई-नभ्याई छ । विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक कार्यमा बाजा बजाउन पुनको समूह दक्षिण बागलुङका सबै गाउँ पुगेको छ ।

 

कोरोना महामारीका बीच भइरहेका धार्मिक कार्यमा बाजा बजाउन पुग्ने दमेक नौमति बाजा समूहले नौमति बाजाको संरक्षण मात्रै गरेको छैन, युवाहरूका लागि गतिलो अम्दानीको स्रोतसमेत बनेको छ । दमेकका मगर समुदाय लोपोन्मुख नौमति बाजा संरक्षण गर्न १० वर्षदेखि सक्रिय छन् ।

 

पहिलेको पुस्ताले थालेको नौमति बाजाको संरक्षणलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको समूहका संयोजक सुवास कार्कीले बताए । १० जनाको समूहमा अधिकांश मगर समुदायका युवाको सहभागिता छ भने केही क्षेत्री समुदायका युवासमेत संलग्न छन् ।

 

‘पहिले बुबा-हजुरबुबाहरूले बाजा बजाउन थाल्नुभएको हो । हाम्रो पुख्र्यौली पेसा भने होइन,’ कार्कीले भने, ‘अहिले युवाहरूले सबै सिकेकाले उनीहरूले बाजा बजाउँदै हिँड्छन् ।’

 

परियार समुदायको पुख्र्यौली पेसा नौमति बाजा बजाउने भए पनि पछिल्लो समय विस्थापित हुन थालेपछि कला-संस्कृतिको संरक्षण गर्न मगर समुदायका सदस्य नौमति बाजाको संरक्षणमा जुटेका हुन् । उनीहरूले परियार समुदायका सदस्यबाट धेरै पहिला बाजा बजाउन सिकेका थिए ।

 

‘कहीँकतै विवाह, व्रतबन्धजस्ता कार्यक्रम हुँदा माग ठूलो छ’, कार्कीले भने, ‘ठाउँअनुसारको पारिश्रमिक लिन्छौँ । सिजनमा राम्रो आम्दानी हुन्छ ।’ 

 

दमेकका सबै मगर समुदायले नौमति बाजा समूहलाई सहयोग गरे पनि अहिले भने १५ जना मात्रै समूहमा आबद्ध छन् । आफ्नै सवारीसाधनमा उनीहरू बागलुङका विभिन्न ठाउँ र छिमेकी जिल्लामा समेत पुग्ने गरेका छन् ।

 

नौमति बाजामध्ये सनई, नर्सिंगा र ढलाकी बनाउन अन्यको तुलनामा कठिन हुने गरेको उनीहरूको अनुभव छ । समूहका लागि बाजा भने स्थानीय कृष्ण छन्तयालले व्यक्तिगत लगानीमा खरिद गरेका हुन् ।

 

करिब १ लाख ५० हजार रुपैयाँ लागतमा नौमति बाजा खरिद गरेर छन्यालले समूहलाई दिएका छन् । बाजा बजाउँदा आउने पारिश्रमिक समूहका सदस्यहरूले बाँडेर लिने गरेका छन् ।

 

‘हामी स्वतःस्फूर्त लागेका हौँ । कसैको साथ सहयोग पाइएको छैन,’ पुन भन्छन्, ‘सीप भएपछि आम्दानीको स्रोत हुँदो रहेछ ।’ पहिले-पहिले मगर बाजाभन्दा अँध्यारो मुख लगाउनेहरूले पछिल्लो समय भने खोज्न थालेको उनीहरूको अनुभव छ ।