close

खोटेहाङको वित्तीय प्रगति ४०.१२ प्रतिशत 

खोटेहाङको वित्तीय प्रगति ४०.१२ प्रतिशत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाको चालू आर्थिक वर्षको वित्तीय प्रगति ४० प्रतिशत नाघेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकार, दातृ निकायबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट भएको कुल आयमध्ये ४०.१२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

 

संघीय, प्रदेश सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान तथा गाउँपालिकाको आन्तरिक आम्दानी गरी ५४ करोड ८१ लाख १८ हजार ४३ रुपैयाँ आय अनुमान गरिएकामा हालसम्म ३१ करोड ५९ लाख ७१ हजार ३६२ रुपैयाँ आय हुँदा पुँजीगततर्फ २५.४४ प्रतिशत र चालूतर्फ ४७.४४ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

 

गाउँपालिकाको यो वित्तीय प्रगति विवरणमा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, साना सिँचाइ आयोजना र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट समावेश गरिएको छैन । 


गाउँपालिकाको चौथो वार्षिकोत्सव अवसरमा गाउँपालिका अध्यक्ष राईले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्ष पूर्वाधार क्षेत्रअन्तर्गत ७ वटा पालिका स्तरीय सडक निर्माण तथा मर्मतका लागि १ करोड १८ लाख र ४० वटा वडा स्तरीय सडक निर्माण तथा मर्मतका लागि १ करोड ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

 

उक्त बजेटमध्ये खोटाङ-पामाखाम सडक ठेक्का प्रक्रियाबाट सम्झौताको चरणमा रहेको उल्लेख छ । यस्तै, रसुवा-बाघेढुंगा सडक स्तरोन्नतिका लागि सम्झौता गर्ने क्रममा रहेको तथा रसुवा-पान्धारे सडक संरचना निर्माणका लागि आशयपत्र जारी गरिएको गाउँपालिकाले बताएको छ ।

 

यस्तै, चालू आर्थिक वर्ष १ करोड रुपैयाँ विनियोजन गरेर ठेक्का प्रक्रियाबाट खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरी, वडा नम्बर २ वाप्लुखा र वडा नम्बर ३ सावाकटहरेमा विद्युतीकरण गरिएकामा पुनः १ करोड रुपैयाँ पुरक बजेट थपेर बाँकी क्षेत्रमा आगामी जेठसम्म विद्युतीकरणको काम सक्ने गरी बोलपत्र आह्वानको तयारी छ ।

 

गाउँपालिकालाई चालू आर्थिक वर्षभित्रै पूर्ण उज्यालो पालिका बनाउने लक्ष्य राखिएको छ । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन तथा ९ वटै वडामा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

 

गाउँपालिकाका अनुसार न्यायिक कार्यलाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमा ठेक्का प्रक्रियाबाट न्यायिक समितिको सचिवालय हल निर्माण भइरहेको छ ।

 

यस्तै, नयाँ सिँचाइ योजनाअन्तर्गत नेपाल सरकार, स्वीस सरकार तथा गाउँपालिकाको संयुक्त लगानीको ९० लाख ४९ हजार ६६९ रुपैयाँ बराबरको दुम्छाखोला राजाढुंगा सिँचाइ योजना, दिलुङ खोला-सङकुलुङ मुखीताङ सिँचाइ योजना, मिच्मालुङ खोला डाँडा सिँचाइ योजना र टुवाखोला कुइभीर सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । 

 

आर्थिक वर्ष २०७८/७८ मा सञ्चालन हुने ४ वटा साना सिँचाइ योजना छनोट गरेर सम्झौताको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । 


गाउँपालिका अध्यक्ष राईले आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि तथा पशु विकास, पर्यटन तथा संस्कृति, गरिबी निवारणका लगि लघु उद्यम विकास कार्यक्रम (मेड्पा), सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद, बहुक्षेत्रीय पोषण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुशासन तथा संस्थागत विकास क्षेत्रतर्फ कानुन निर्माण, संस्थागत विकास, आन्तरिक राजस्वलगायत विषयमा जानकारी गराएका थिए ।