close

उदयपुरमा यातायात सञ्चालनमा रोक

उदयपुरमा यातायात सञ्चालनमा रोक

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला संकट व्यवस्थापन समिति (डिसिसिएमसी) बैठकले कोरोनाको बढ्दो संक्रमण रोक्न आइतबारदेखि उदयपुरमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।

 

स्थानीय प्रशासनले आइतबार राती ८ बजेदेखि उदयपुरमा यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउने उद्देश्यले यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।

 

कोरोना संक्रमितको संख्या एक्कासि बढेकोले थप संक्रमण हुनबाट रोक्न १ साताका लागि यातायात (२ पांग्रेबाहेक) सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए ।

 

२ पांग्रे मोटरसाइकल सञ्चालन गर्ने अनुमति दिए पनि त्यसमा २ जना सवार हुन भने रोक लगाइएको छ । सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर तथा मुर्कुचीलगायत सम्पूर्ण बजार बिहान १० देखि ३ बजेसम्म मात्रै खोल्ने डीसीसीएमसीले निर्णय गरेको छ ।

 

उदयपुरमा यातायात सञ्चालनमा रोक लगाइँदा मदन भण्डारी लोकमार्ग पनि ठप्प हुने प्रहरीले जनाएको छ । सरकारी तथा सरोकारवालाको सहभागितामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति बैठकले बढ्दो कोभिड संक्रमण रोक्न सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

 

बजार क्षेत्रमा यातायात बन्द गर्ने डिसिसिएमसीको निर्णयले पूर्व-पश्चिम महेन्द्र लोकमार्गको विकल्प मानिएको मदन भण्डारी लोकमार्ग पनि ठप्प हुनेछ । सुनसरीको धरानदेखि बेलका नगरपालिका वडा नम्बर ८ चतारा-रामपुर हुँदै चौदण्डीगढी नगरको बसाहा-बेलटार-सदरमुकाम गाईघाटबाट उदयपुरगढीको नेपालटार भएर कटारी नगरको रिस्कु-कटारी बजार हुँदै सिन्धुली-हेटौंडा जोडिने मदन भण्डारी लोकमार्गमा यातायात चल्न पाउने छैनन् ।

 

सवारी साधनमा रोक लगाइएका कारण यात्रुवाहक बस, मालवाहक ट्रक, ट्रयाक्टर, जिप, कार, भ्यान र अटो रिक्सासम्म चल्न नपाउने निर्णय डिसिसिएमसीले गरेको छ । एम्बुलेन्स, प्रेस र आपत्विपद्मा परेकालाई भने रोक लगाइने छैन ।

 

पछिल्लो ३ दिनमा उदयपुरमा कोरोना संक्रमित ५१ जना पुगेपछि यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आइतबार ९ जनामा कोरोना संक्रमण थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरको रिपोर्टअनुसार ६ पुरुष र ३ महिला गरी ९ जना संक्रमण पुष्टि भएको हो ।

 

संक्रमण पुष्टि हुनेमा त्रियुगा नगरपालिकाका ४ जना, रौतामाईका ४ र चौदण्डीगढीका १ जना छन् । त्रिनपा वडा नम्बर ६ का २५ वर्षीय पुरुष, वडा नम्बर ६ कै ५४ वर्षीय पुरुष, नगरपालिकाकै ३० वर्षीया एक महिला र वडा नम्बर १० की ३७ वर्षीया महिला संक्रमित भएका छन् ।

 

यस्तै, रौतामाई वडा नम्बर ५ की ५१ वर्षीया महिला, वडा नम्बर ५ कै ३५, ६१, २८ वर्षीय पुरुष रहेका छ भने चौदण्डीगढीको ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदपुरले जनाएको छ ।

 

त्रियुगा नगरपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने ३ गाउँपालिका ताप्ली, लिम्चुङबुङ र उदयपुरगढीमा संक्रमितको संख्या शून्य छ । अन्य पालिकामा कटारीमा ४, चौदण्डीगढीमा ५, बेलकामा १ र रौतामाईमा ५ संक्रमितको संख्या छ ।