close

बागलुङमा संक्रमित बढे, बनेनन् क्वारेन्टाइन 

बागलुङमा संक्रमित बढे, बनेनन् क्वारेन्टाइन 

Trulli
ADVERTISEMENT

बागलुङ- गत वर्ष २ जना संक्रमित अस्पतालमा भर्ना हुँदा बागलुङमा झन्डै ५ सय जना राख्न सकिने क्वारेन्टाइन तयार भइसकेका थिए । 

 

सदरमुकामको रामरेखा आधारभूत विद्यालय, शान्ति समितिसहित ग्रामीण तहका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको थियो । भारतबाट आएका, छिमेकी सहरदेखि आएका वा पैदलयात्रीसमेतलाई क्वारेन्टाइनमा राखेर गन्तव्यमा पठाउने काम भएको थियो ।

 

क्वारेन्टाइन बसेपछि उनीहरूको आरडिटी र पिसिआर परीक्षण गरिन्थ्यो । नेगेटिभ रिपोर्ट आए घर फर्कन पाउँथे, पोजेटिभ आए आइसोलेसन जान्थे । 

 

त्यतिबेला रामरेखाकै धौलागिरि बहिरा विद्यालय, धौलागिरि बहुमुखी क्याम्पस र रात्माटास्थित नगरपालिकाको भवनलाई समेत आइसोलेसन बनाइएको थियो ।

 

गलकोट, खरवाङ र बुर्तिवाङ सम्मका दर्जनौं विद्यालय क्वारेन्टाइन थिए । तर, यो वर्ष डेढ सय सक्रिय संक्रमित पुग्दा पनि क्वारेन्टाइन बनेका छैनन् । न त आइसोलेसन निर्माणको नै तयारी छ ।

 

यसपटक पालिका, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिले क्वारेन्टाइन निर्माणमा ढिलाइ गरेको देखिएको छ । खर्च गर्दा पालिकाले गर्ने, त्यसको व्यवस्थापन स्वास्थ्यकर्मीले गर्ने तर जोखिम भत्ता नपाउने, अन्य विकासे बजेट खर्च गर्दा काममा असर पर्नेजस्ता विषय देखाएर जनप्रतिनिधि तर्कने गरेका छन् ।

 

गत वर्ष उद्योग वाणिज्य संघ, लायन्स, लियो, जेसिज र रोट्रयाक्टलगायत क्लबले क्वारेन्टाइन बनाउन पहल लिएका थिए । अहिले स्वास्थ्य कार्यालयले समेत चासो कम देखाएको सर्वसाधारणको बुझाइ छ ।

 

‘देशभर लकडाउन नभएसम्म को मानिस भारतबाट आएको, को छिमेकी जिल्लाबाट आयो भन्ने पत्ता लगाउनै सकिँदैन । क्वारेन्टाइन बनाएर खर्च मात्रै बढाउनुभन्दा घरमै जाने वातावरण चाहिन्छ,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘हरेकले आफ्नो मात्रै हैन, समाजको सुरक्षामा सचेत बन्नुपर्छ ।’

 

घरलाई नै क्वारेन्टाइन र आइसोलेसन बनाउनुपर्नेमा उनको जोड छ । ग्रामीण क्षेत्रका हरेक स्वास्थ्य चौकीमा २-४ देखि २० जनासम्म राख्न सकिने आइसोलेसनको पूर्वाधार भएकाले जता पायो, त्यतै बनाउने विषयमा चासो नदिइएको गुरौ सुनाउँछन् ।

 

तोकिएका क्वारेन्टाइन अभावमा भारतबाट आएकाहरू सुरक्षित बसेका छैनन् । उनीहरूकै कारण अधिकांश संक्रमण फैलिएको टिप्पणी भएको छ । हरेकले आफ्नो घरमा बसेर नैतिकता प्रदर्शन गर्नुपर्ने गुरौ सुझाउँछन् ।

 

भारतबाट आएकहरूको बेवास्ताले बागलुङको बलेवा क्षेत्रमा कोरोना संक्रमण देखिएको प्रमाणित भएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३ र १४ मा निषेधाज्ञा लगाइएको छ । बिरामी भएको अवस्थामा मात्रै गाउँका स्वास्थ्य चौकी र अस्पतालसम्म पुग्न गुरौ सुझाव दिन्छन् । घरमा बसेका संक्रमितले क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।