close

मुकामको सडक सुधार्दै जैमिनी

मुकामको सडक सुधार्दै जैमिनी

Trulli
ADVERTISEMENT

बागलुङ- संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छाडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ ।

 

संघीय र प्रदेश सरकारको समपुरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीसेरा बजारको सुधारमा लगाइएको हो ।


समपुरक बजेटमा साझेदारी गरेर नगरपालिकाले कालीगण्डकी करिडोर जैमिनीधामदेखि पालिका मुकाम कुश्मीसेरा बजारसम्मको सडक स्तरोन्नतिको काम गरिरहेको छ । बहुवर्षे यो योजनाका लागि चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

 

संघको ८७ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ६७ लाख गरी २ करोड रुपैयाँमा यो सडक स्तरोन्नति भइरहेको छ । टेन्डर प्रक्रियामा सहभागी निर्माण कम्पनीले कुल बजेटबाट छाडेको ७४ लाख रुपैयाँ पुनः प्रयोगमा ल्याइएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले बताए । 

 

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने कुश्मीसेरा बजार कालोपत्रे सडकले टल्किनेछ । बजारभित्रको १ सय ४५ मिटर सडक ढलान गर्ने र ३ सय मिटर सडक कालोपत्रे गर्ने काम भइरहेको सापकोटाले जानकारी दिए ।

 

‘मुकामले हामीलाई गिज्याइरहेको थियो । सडक विस्तारका लागि बजेट थिएन,’ सापकोटाले भने, ‘समपुरकको योजनामा बचेको बजेटले बजार सुन्दर बनाउने काम चलिरहेको छ ।’ सडक विभागको मापदण्डअनुसार ५ दशमलव ५ मिटर चौडा सडक कालोपत्रे हुनेछ । 


बजार क्षेत्रका सबै सडकमा नाली निर्माण गरिने हुँदा अब बर्खामा हिलाम्मे हुने समस्या सदाका लागि हट्ने स्थानीय विष्णु आचार्यले बताए । साँघुरो कुश्मीसेरा बजारमा सडक बनाउन स्थानीयले पुराना संरचना भत्काएका छन् ।

 

‘एउटा घर भत्काउन अन्तिम सूचना टाँस भएको छ । बाँकी सबैले सडक फराकिलो बनाउन सहयोग गरे,’ सापकोटाले भने, ‘आगामी असारसम्म काम सकिँदा त्यो घर पनि पन्छ्याएर सडक बनाउँछौँ ।’


जैमिनीमा २ वर्ष पहिलेसम्म कालोपत्रे सडक थिएन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बागलुङ–कुश्मीसेरा सडकको १.६ किलोमिटर खण्ड पक्की भएपछि जैमिनीले कालोपत्रे सडक पाएको थियो ।

 

शेरा बजारमा भइरको कालोपत्रे सकिँदा जैमिनी नगरभर झन्डै तीन किलोमिटर सडक कालोपत्रे हुनेछ ।