close

फुङ्लिङ आउने सवारीमा पाथीभरा याङ्बरकको प्रतिबन्ध

फुङ्लिङ आउने सवारीमा पाथीभरा याङ्बरकको प्रतिबन्ध

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले पालिका क्षेत्रबाट फुङ्लिङ नगरपालिकातर्फ आउजाउ गर्ने सवारीसाधनमा प्रतिबन्ध लगाएको छ ।

 

सोमबार पालिका अध्यक्ष केशरकुमार सुब्बाको अध्यक्षतामा बसेको द्रुत प्रतिकार्य टोली (आरआरटी) बैठकले ४ वटा निर्णय गरेको पाथीभरा याङ्बरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।

 

उनका अनुसार अत्यावश्यक अवस्थाबाहेक अर्को निर्णय नहुँदासम्म पाथीभरा याङ्बरक गाउँपालिका क्षेत्रबाट फुङ्लिङतर्फ सवारी आवागमन बन्द गरिएको छ । तर, निर्माणजन्य सामग्री, खाद्यान्न तथा तरकारी बोकेका गाडी, एम्बुलेन्ससहितका अत्यावश्यक सेवा प्रदान गर्ने सवारीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र आवागमन खुला गरिने निर्णय भएको छ ।

 

पाथीभरा याङ्बरकले फुङलिङलाई ताप्लेजुङभित्रको कोरोना हटस्पट क्षेत्रको रूपमा लिएको छ । यस्तै, पालिकाअन्तर्गतका विद्यालयमा सञ्चालन भइरहेको वार्षिक परीक्षा अर्को सूचना जारी नहुँदासम्म स्थगित गर्ने निर्णय भएको छ ।

 

बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै २६ वैशाखसम्मका लागि पालिका र मातहतका निकायले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय लिएको छ । स्वास्थ्यतर्फ इमर्जेन्सी र फिबर क्लिनिक मात्र सञ्चालनमा हुनेछन् भने ओपिडी सेवा बन्द गरिएको छ ।

 

यस्तै, योजनासम्बन्धी काम दर्ता, सम्झौता, फरफारक, वडाबाट प्रवाह हुने सिफारिस, पञ्जीकरणसम्बन्धी काम रोकिएका छन् । गाउँपालिकाले कोरोना प्रभावबाट जोगिने उपाय तथा आरआरटीको बैठकले गरेका निर्णय प्रचारको जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी थेचम्बु उपशाखालाई दिएको छ ।