close

ट्रयाक खुलेको ३ दशकपछि ग्राभेल हुँदै सिधुवा-शुक्रबारे सडक 

ट्रयाक खुलेको ३ दशकपछि ग्राभेल हुँदै सिधुवा-शुक्रबारे सडक 

Trulli
ADVERTISEMENT

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिकालाई कोसी राजमार्गसँग जोड्ने १६ किलोमिटरको सिधुवा-शुक्रबारे-ओख्रे सडक ट्रयाक खुलेको झन्डै ३ दशकपछि ग्राभेल हुने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ भित्र कालोपत्रे गरिसक्ने गरी ठेक्का लगाएको हो ।

 

प्रदेश र संघीय सरकारको बजेटबाट बहुवर्षीय योजनाअन्तर्गत ७४ करोड रुपैयाँमा कालोपत्रेको ठेक्का लागेको र अहिले ग्राभेल गर्ने काम सुरु भएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

 

‘सिधुवा-शुक्रबारे ९ किमि खण्डको चौडाइ १० मिटरसहितको कालोपत्रे सडक बन्छ । शुक्रबारेदेखि ओख्रेसम्म ७ मिटर चौडाइको सडक कालोपत्रे हुन्छ,’ प्रवक्ता नेपालीले भने, ‘समग्रमा अहिलेसम्म करिब ५० प्रतिशत काम पूरा भएको छ ।’

 

अहिले सडकमा नाली बनाउने, मेसिनरी वाल लगाउने, कज-वे निर्माणलगायत काम भइरहेको उनले बताए । सिधुवा-शुक्रबारे खण्डमा सडकको चौडाइ विस्तार गर्न अब करिब २ किमि मात्रै बाँकी छ ।

 

चौडाइ विस्तार गरी ड्रेनसमेत निर्माण भइसकेका ठाउँमा ग्राभेल गर्ने काम भइरहेको छ । सडक निर्माण र ग्राभेल गर्ने कामको सोमबार गाउँपालिका अध्यक्ष सन्तोष तिगेला नेतृत्वको टोलीले स्थलगत अनुगमन र निर्देशन दिएको छ ।

 

अनुगमनका क्रममा अध्यक्ष तिगेलाले ड्रेन निर्माण भइसकेका ठाउँमा चालू आर्थिक वर्षभित्रै ग्राभेल गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिए । ‘सडक निर्माणमा गुणस्तरमा सम्झौता हुँदैन । अब वर्षायाम सुरु हुँदै छ । त्यसअघि नै वर्षायाममा सवारी आवागमन नरोकिने गरी ग्राभेलको काम पूरा गर्न निर्माण कम्पनीसँग छलफल भएको छ,’ अध्यक्ष तिगेलाले भने ।

 

यो सडक भएर छथर गाउँपालिका क्षेत्रका विभिन्न गाउँसम्म दैनिक ४ वटा बस सञ्चालन हुँदै आएका छन् । ग्रामीण क्षेत्रको कृषि उपजलाई बजारसम्म पुर्‍याउन ट्रयाक मात्रै खोलेर छाडिएको सडक लामोसम्म नबन्दा गाउँका किसानले दुःख पाउँदै आएका छन् । सडकको ग्राभेल सुरु भएपछि स्थानीय उत्साहित छन् ।