close

धवलागिरि गाउँपालिकाद्वारा ३ वटा भवन निर्माण सुरु

धवलागिरि गाउँपालिकाद्वारा ३ वटा भवन निर्माण सुरु

Trulli
ADVERTISEMENT

म्याग्दी - जिल्लाको धवलागिरि गाँउपालिकाले एकैसाथ ३ वटा भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाले २ करोड २२ लाख ४० हजार ८१  रुपैयाँको लागतमा वडा कार्यालय, स्वास्थ्य चौकी र नमुना आवासीय माविको छात्रावास भवन निर्माण सुरु गरेको हो ।


लुलाङमा २ नम्बर वडा, मुनामा स्वास्थ्य चौकी र शिवाङको हेम नमुना आवासीय माविको भवन निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । गत जेठमा सम्झौता गरेका तीन वटै भवन निर्माण धमाधम भइरहेको गाउँपालिकाका इन्जिनियर सोविन जिसीले बताए ।  ‘कोरोना जोखिम र पहिरोका कारण सडक यातायातमा भएको अवरोधका बाबजुद स्थानीय मजदुर परिचालन र निर्माण सामग्री जुटाएर भवन निर्माणलाई निरन्तरता दिएका छौं,’ उनले भने । 


१ करोड २० लाख ७८ हजार ५ सय २२ रुपैयाँ लागत अनुमान गरिएको नमुना आवासीय माविको छात्रावास भवन निर्माणका लागि माछापुच्छे« निर्माण सेवाले १ करोड १ लाख ९० हजार ८ सय ८६ रुपैयाँमा ठेक्का लिएको छ ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनुदानमा निर्माण हुन लागेको एक तले छात्रावासमा भान्छाकोठा, शौचालय, सयन कक्षसहित १० कोठा रहने इन्जिनियर जिसीले जानकारी दिए । 


९४ लाख ९७ हजार २ सय ७१ रुपैयाँ लागत अनुमान गरिएको वडा–३ स्थित मुना स्वास्थ्य चौकीको भवन निर्माणका लागि थापा निर्माण सेवाले ६४ लाख १३ हजार ६ सय ३१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । प्रदेश सरकारको विशेष अनुदानमा निर्माण हुन लागेको स्वास्थ्य चौकीमा ७ कोठा हुनेछन् । 


यस्तै, ७५ लाख ७३ हजार ५ सय ६ रुपैयाँ कुल लागत अनुमान गरिएको लमसुङमा निर्माण हुन लागेको वडा कार्यालय भवन बनाउन थापा निर्माण सेवाले नै ५६ लाख ३५ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । वडा कार्यालय भवन ५ कोठे हुनेछ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा यो भवन निर्माण हुन लागेको हो । 


०७७ कात्तिकसम्मको सम्झौता अवधि भएका तीन वटै आयोजनालाई पूर्णता दिन म्याद थपको तयारी भएको छ । वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माणपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । 


उनका अनुसार शिवाङको हेम नमुना आवासीय माविमा टाढाबाट आउने विद्यार्थीहरूको आवास सुविधाका लागि छात्रावास बनाउन लागिएको हो ।