close

जुम्ला अस्पतालको ओपिडी बन्द, फोनबाटै स्वास्थ्य परामर्श सेवा 

जुम्ला अस्पतालको ओपिडी बन्द, फोनबाटै स्वास्थ्य परामर्श सेवा 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । प्रतिष्ठानले कोरोना जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेर इमर्जेन्सी उपचार मात्रै थालेको हो ।

 

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार सबै स्वास्थ्यकर्मी कोरोनाको उपचारमा खटिनुपर्ने हुँदा हाल आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । ओपिडीमा रहेका जनशक्ति कोरोनाको उपचारका लागि खटिएका प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार कोरोना भाइरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण बिरामी तथा समुदायको सरक्षाका लागि अर्को सूचना जारी नभएसम्म ओपिडी बन्द गरिएको हो ।

 

प्रतिष्ठानले इमर्जेन्सी बिरामीका १६६०८७५२५५५ नम्बरको हटलाइन सेवा सुरु गरेको छ । साधारण समस्या भएका बिरामीले टेलिफोनमार्फत चिकित्सकलाई परामर्श सेवा लिनसमेत फोन नम्बर सार्वजनिक गरिएको हो ।

 

प्रतिष्ठानमा विशेषज्ञ डा. पुजन रोकाया हाडजोर्नी, डा. सूर्यमान लिम्बू सर्जरी, डा. राजेन्द्रमणि गिरी मेडिसिन, प्राडा. सुनील बुढाथोकी बालरोग, डा. राजीव शाह स्त्री तथा प्रसूति रोग विशेषज्ञको फोन सार्वजनिक गरिएको छ ।

 

यसैगरी प्रतिष्ठानले कोरोना संक्रमण बढेपछि जनशक्ति खटनपटन व्यवस्थापन गरेको छ । प्रतिष्ठानले २४ सै घन्टा ५ जना डाक्टर राखेर इमर्जेन्सी र कोरोना उपचारमा लागिरहेको जनाएको छ । यसअघि ६ जना डाक्टर नेपालगज्जको भेरी अस्पतालमा प्रतिष्ठानले पठाएको छ । 


४८ संक्रमित, १ जना सिकिस्त 

 

कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट बिरामी आउन थालेका छन् ।

 

सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका बेड र अक्सिजन आवश्यक बिरामीको समेत उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिष्ठानले १ जना बिरामी सिकिस्त भएको बताएको छ । कोरोना पोजेटिभको संख्या ४८ पुगेको जानकारी अस्पतालले दिएको छ ।

 

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल र जुम्लाका ४४ जना गरी ४८ जना संक्रमित भएका हुन् ।