close

निषेधाज्ञाले सुनसान पोखरा 

निषेधाज्ञाले सुनसान पोखरा 

Trulli
ADVERTISEMENT

कास्की- कोभिड १९ को संक्रमण बढेपछि कास्कीमा कडा खाले निषेधाज्ञा घोषणा गरिएको छ । मंगलबारदेखि जारी गरिएको निषेधाज्ञाले पोखरा सुनसान बनेको हो । 


सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने गत वर्षकै लकडाउनजस्तै छ । निषेधाज्ञा वैशाखभर लागू हुनेछ । मंगलबार दिनभरि पोखराका सडकमा सवारी साधन कम चले भने खाद्यान्नबाहेक पसल पनि खुलेका छैनन् । 

 

पोखराका मुख्य चोकमा सुरक्षाकर्मी खटिएका छन् । अनावश्यक रूपमा हिँडडुल गर्नेलाई प्रहरीले सोधपुछ गरेर फर्काएको छ । 

 

कास्कीमा पछिल्ला दिनमा कोभिड तीव्र रूपमा फैलिएको छ । त्यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञालाई कडाइ गरिएको हो । 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले एम्बुलेन्समा समेत २ जना बढी चढ्न नपाइने नियम बनाएको छ । दमकल, शव वाहन, खाद्यसामग्री तथा पशुपक्षीका दाना, खाद्यान्न तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भने चल्नेछन् ।

 

चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन चलेका छन् ।


वस्तुको प्रकृति हेरेर ढुवानीको समय मिलान गरिएको छ । औषधी एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुला रहने, दैनिक उपभोग्य खाद्यान्न पसल बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

 

ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायत निर्माण सामग्री बोक्ने सवारी साधन दिनको १ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर अत्यावश्यक सेवा मात्रै दिन पाउनेछन् । प्रशासनले वैशाखभर कडा निषेधाज्ञा घोषणा गरेको हो ।