close

तनहुँमा निषेधाज्ञा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँमा बुधबार राती १२ बजेदेखी निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले ३१ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

 

ऋषिङ गाउँपालिकाको वडा नम्बर १ बाहेकका सबै वडामा र घिरिङ गाउँपालिकाका सबै वडाबाहेक जिल्लाभर निषेधाज्ञा लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । अति आवश्यकबाहेकका सबै सेवा बन्द हुने गरी निषेधाज्ञा लागू हुने उनको भनाइ छ । ‘अति आवश्यक काम र सेवा पनि सुरक्षाको मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न पाइनेछ’, उनले भने ।

 

खाद्यान्न, तरकारी, दुग्धजन्य पदार्थ किनबेचका लागि बिहान ५ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म समय तोकिएको छ । निर्माण सामग्री ढुवानीका लागी दिउँसो ११ देखि ४ बजेसम्म सञ्चालन गर्न पाइने बरालले जानकारी दिए ।

 

भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडा स्तर र टोल स्तरमा यसअघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने निर्णय भएको छ । जोखिमयुक्त स्थानबाट आएकालाई निगरानीमा राखेर १० दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको उनले जानकारी दिए ।

 

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण बढेकाले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरूको बैठकले पनि ३ दिनभित्र निषेधाज्ञा गर्न संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।