close

कोरोना संक्रमण राेक्न चितवनका स्थानीय तह सक्रिय

अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

कोरोना संक्रमण राेक्न चितवनका स्थानीय तह सक्रिय

अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

Trulli
ADVERTISEMENT

चितवन- कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना संक्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।

 

जिल्लाका अस्पतालमा आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । 

 

बिरामीलाई शय्या अभाव हुन नदिन आइसालेसन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर अक्सिजनसहितको आइसोलेसन शय्या तयार पारेका छन् ।

 

रत्ननगर नगरपालिकाले २ ठाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नम्बर १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा ८ शय्याको आइसोलेसन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

 

होम आइसोलेसनमा बस्ने वातावरण नभएका संक्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेसन तयार गरिएको रत्ननगर नगरप्रमुख नारायण वनले जानकारी दिए ।  उनले आइसोलेसनमा राख्न हाललाई जम्मा ७ वटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरू शय्यामा अक्सिजन खोजिरहेको बताए । 

 

सामान्य अवस्थाका बिरामी होम आइसोलसनमै रहेका र जटिल नभएसम्म अस्पताल नआउन भनिएको उनको भनाइ छ । नगरपालिकाले तयार गरेको आइसोलेसनमा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधीको समेत व्यवस्था गरिएको छ ।

 

कोरोनाको दोस्रो लहर सुरु भएपछि १ वैशाखयता रत्ननगरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको, त्यसमध्ये ९ जना अस्पतालमा उपचाररत रहेको र ९९ होम आइसोलेसनमा रहेको नगरप्रमुख वनले बताए ।

 

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेसन कक्ष बनाएको जानकारी दिइन् । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलेसनमा राखिने उनको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन् । 

 

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलसन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिए । अक्सिजनसहितको सो आइसोलेसन कक्ष माडी नगरपालिका वडा नम्बर ६ छरछरेमा छ । यस्तै, ६ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले बताए ।

 

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेसन कक्ष तयार पारिएको जानकारी दिए । वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीमा १५ शय्या र वडा नम्बर ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ९ शय्याको आइसोलेसन बनाइएको उनले बताए । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उनको भनाइ छ । 

 

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेसन कक्ष तयार पारिएको बताए । उनले आइसोलेसनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिए । आइसोलेसनमा बिरामी आए तत्कालै राख्न सक्ने गरी तयारी गरिएको उनको भनाइ छ । 

 

इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेसन कक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलेसन रहेको छ ।

 

हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलेसन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधी रहेको सापकोटाले बताए । अरू शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उनको भनाइ छ । 

 

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेसन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको जानकारी दिए । चितवनका सबै अस्पतालसँग सल्लाह लिन मंगलबार बैठक बसिसकेकाले कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने उनको भनाइ छ । पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड-१९ अस्पताल र बागिश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेसन कक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन ।