close

केन्द्र सरकारको आदेश स्थानीय सरकारलाई– ‘गाउँटोल निःसंक्रमण गर्नु’

केन्द्र सरकारको आदेश स्थानीय सरकारलाई– ‘गाउँटोल निःसंक्रमण गर्नु’

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय सरकारले स्थानीय तहलाई दैनिक गाउँटोल निःसंक्रमण गर्न निर्देशन दिएको छ । त्यसका लागि कार्ययोजना निर्माण पनि सुझाएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको कोभिड नियन्त्रणसम्बन्धी कार्ययोजनाअनुसार हरेक स्थानीय तहले आ-आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख छ ।

 

कार्ययोजनाअनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।

 

कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमणसहितको कार्ययोजना सार्वजनिक गरेको हो । यद्यपि केन्द्रले निःसंक्रमण गर्ने भन्ने विधिबारे भने उल्लेख गरेको छैन ।

 

गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले जारी गरेको कार्ययोजना हेरेपछि मात्रै केन्द्रले भनेअनुसार अघि बढ्ने र त्यतिबेलासम्म हरेक स्थानीय तहले आफ्नै ढंगले कोरोना रोकथामको प्रयास जारी राख्ने जानकारी दिए ।


यस विषयमा सरकारले आफूहरूसँग छलफल नगरे पनि महामारीको समय सबै कुरा छलफल गर्न सम्भव नभएकाले यो निर्देशन गाउँपालिकाहरूले स्वीकार गर्दै कोरोना नियन्त्रणमा केन्द्र सरकारको पहललाई सहयोग गर्ने बताए ।


कार्यविधिमा संघअन्तर्गतका निकाय एवं स्थानीय तहलाई विभिन्न जिम्मेवारी तोकिए भए पनि प्रदेशको जिम्मेवारीबारे भने केही उल्लेख छैन ।