close

बिहे गरेको १० दिनमै कोरोनाले लियो ज्यान

बिहे गरेको १० दिनमै कोरोनाले लियो ज्यान

Trulli
ADVERTISEMENT

भक्तपुर- अग्रज व्यक्तिको आशीर्वाद लिई दाम्पत्य जीवन सुरु गर्ने रहर जोसुकै हुने गर्छ ? रातो सारी, झपक्कै गहना अनि त्यसमाथि सोह्र शृंगारले सजिएर । 

 

आफन्त सबैसँग बिदा लिई पराई घर जाने अनि सोही घरमा नयाँ जीवन सुरु गर्ने चलन नेपाली समाजमा छ । अधिकांश युवतीको सपना बिहे गरेर घरजम गर्ने र घर-माइत आउजाउ गरेर वैवाहिक जीवनलाई सुन्दर बनाउने हुन्छ । 

 

तर, भक्तपुरकी २३ वर्षीया बेहुलीको सपनामा भने वज्रपात भएको छ । माइतीबाट अन्मिएको १० दिन बित्न नपाउँदै उनी संसारबाट बिदा भइन् । 

 

हिन्दु परम्पराअनुसार श्रीमान्को घरमा उनलाई गृहप्रवेश गराइयो । विवाह भएको भोलिपल्टै कोरोना संक्रमित भएपछि उनलाई भक्तपुर अस्पतालमा भर्ना गरिएको थियो । 

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालबाट बिदा भएकी युवती ससुराली घर गइन् । विवाहको रीतिअनुरूप उनी श्रीमान्को घर गइन् । तर, श्वासप्रश्वासमा समस्या भएपछि १२ वैशाखमा अस्पताल भर्ना भइन् ।

 

भर्ना भएको ९ दिनमै उनले संसारबाटै बिदा लिइन् । बेहुलीको निधन मंगलबार दिउँसो २ बजे भएको हो । अस्पतालमा स्वयंसेवकको रूपमा खटिएका आरएनए १६ का संयोजक अरुण सैंजुका अनुसार सोमबार दिउँसो २ बजे अस्पतालमा रुवाबासी भयो । उनको अन्तिम संस्कार पशुपतिको आर्यघाटमा गरिएको छ ।

 

बेहुलीको मृत्युपछि उनको परिवार मात्रै होइन, माइती गाउँ नै स्तब्ध भएको छ । उनलाई केही दिन अघिदेखि नै सामान्य रुघाखोकी लागेको थियो । ‘मौसम परिवर्तनका कारण सामान्य रुघाखोकी होला भनेर बसेका थियौँ । यस्तो होला भनेर कसले सोचेका पनि थिएनौँ’, माइती घरका परिवारले भने ।


विवाहको भोलिपल्ट दुलही फर्काउने चलनअनुरूप ज्वाइँको घर गएका बेला छोरीले खोकी लागेर गाह्रो भयो भनेपछि भक्तपुर अस्पताल लगियो । अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ !’ कोरोना संक्रमणले थलिएपछि उनले बेहुली भएको १० दिनमै मृत्यु अँगाल्नुपर्‍यो ।

 

अस्पतालका डा. सुनील ढुंगेलका अनुसार १२ वैशाख आइतबार युवतीलाई अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा उनलाई सुक्खा खोकी र ज्वरो थियो । सास फेर्न गाह्रो भइरहेको डा. ढुंगेलले सुनाए ।

 

आइसियु खाली नहुँदा नन-कोभिड बिरामीलाई सारेर उनलाई आइसियुमा राखिएको अस्पतालले बताएको छ । चिकित्सकका अनुसार उनको अक्सिजन लेभल ५० प्रतिशत मात्र देखिएको थियो । चेकअपका क्रममा उनको दुवै फोक्सोमा निमोनिया भइसकेको पाइएको थियो ।

 

‘कोभिडका बिरामीलाई त्यसै पनि श्वासप्रश्वासको समस्या हुन्छ । त्यसमाथि उनको फोक्सो निमोनियाले खाइसकेको थियो,’ डा. ढुंगेलले भने । डा ढुंगेलका अनुसार उनलाई अक्सिजन र कोभिडमा प्रयोग गरिने सबै औषधी चलाइयो । रेमडेसिभिर पनि चलाइयो । तर, स्वास्थ्यमा केही सुधार भएन ।

 

उनीहरूले मागी विवाह गरेका थिए । युवक इन्टेरियर डिजाइनर हुन् । उनीहरूले १ दिन मात्रै दाम्पत्य जीवन बिताउन पाए ।

 

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बेलुहीलाई बचाउन खोज्दा पनि नसकेकामा दुःख व्यक्त गरिन् । अहिलेको नयाँ भेरियन्ट भयानक रहेको मेसु गौतम सुनाउँछिन् ।

 

‘अहिले यो भेरियन्ट सबै उमेरका व्यक्तिलाई लागेको छ,’ उनले भनिन्, ‘नयाँ भेरियन्टले सबै उमेर समूहलाई असर पारेको छ । त्यसैले कोरोनालाई हेलचेक्रर्याइँ नगरी सुरक्षित भई घरमै बस्नुपर्छ ।’ हाल अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको गौतमले बताइन् । सबै अक्सिजन दिनुपर्ने बिरामी रहेको उनको भनाइ छ ।