close

फुङ्लिङमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, सिरिजंघा र सिदिङ्वाको सेवा स्थगन

फुङ्लिङमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, सिरिजंघा र सिदिङ्वाको सेवा स्थगन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिका दैनिकजसो कोरोना संक्रमित थपिन थालेपछि यसको प्रभाव आफ्नो पालिकासम्म पुग्न नदिन सिरिजंघा र सिदिङ्वा गाउँपालिकाले वैशाख मसान्तसम्म अत्यावश्यकबाहेकका सेवा स्थन गरेका छन् । दुवै पालिकाले सार्वजनिक सूचना जारी गरी वैशाख मसान्तसम्म सेवा स्थगनको निर्णय लिएका हुन् । 

 

सिरिजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले अत्यावश्यकबाहेकका सबै सेवा वैशाख मसान्तसम्म स्थगित गरिएको जानकारी दिए । उनका अनुसार एम्बुलेन्स र स्वास्थ्यबाहेकका सबै कार्य स्थगित गरिएको छ । 

 

वैशाख मसान्तसम्म गाउँ कार्यपालिकाको कार्यालय मातहतका ८ वटै कार्यालय र नेपाल बैंक सिरिजंघा शाखा तेल्लोकबाट नियमित रूपमा प्रवाह हुँदै आइरहेको अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित भएका छन् । 

 

वैशाख मसान्तसम्म गाउँपालिका क्षेत्र बाहिरबाट पालिकाभित्र आउने सम्पूर्ण यात्रुवाहक सवारी साधनको आवागमनसमेत रोकिएको छ ।

 

यस्तै, सिदिङ्वा गाउँपालिकाले समेत अर्को व्यवस्था नहुन्जेल अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार अति आवश्यक प्रकृतिका नगरी नहुने कामबाहेक अरू सेवा स्थगित गरिएको छ । 

 

अति आवश्यक कामको हकमा समेत गाउँपालिकासँग आवश्यक समन्वय गरेर सम्बधित व्यक्ति मात्र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर मात्र सेवाका लागि उपस्थित हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए ।

 

सिदिङ्वा गाउँपालिकाले संक्रमणको अवस्थामा अत्यावश्यक सेवा लिन पालिकाका कर्मचारी रुद्रप्रसाद बेघा लिम्बूलाई सम्पर्क गर्न आग्रह गरेको छ । फुङ्लिङ बजारभित्र १ सातामै सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।