close

बर्दघाटमा खानेपानी योजना विस्तार हुँदै

बर्दघाटमा खानेपानी योजना विस्तार हुँदै

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडितमा ७ करोड १० लाख ९२ हजार ३ सय ५५ रुपैयाँ लागतमा खानेपानी योजना विस्तार सुरु भएको छ । योजनामा ९० प्रतिशत सरकार र १० प्रतिशत बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लगानी रहेको संस्थाले जनाएको छ ।

 

नगरमा ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी पुगेको र अव शतप्रतिशत घरधुरीमा खानेपानी पुर्‍याउने योजनाअनुसार आयोजना विस्तार हुँदै आएको बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

 

खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलको सह-लगानीमा करिब ९ कठ्ठा क्षेत्रफलमा ४५० घन मिटरको ओभर हेड ट्यांकी २ वटा, डिप बोरिङ, कम्पाउन्ड वाल, अफिस भवन, पम्प हाउस, पाइप लाइन विस्तारसहितका योजना सञ्चालन हुने संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताए । योजनाको शिलान्यास समेत भइसकेको छ ।

 

संस्थाले वडा नम्बर ४ मा करिब ३७०० घरधुरीमा २४ सै घन्टा शुद्ध खानेपानी वितरण गर्दै आएको व्यवस्थापक विष्णुकुमार भुसाल बताउँछन् । वडा नम्बर ४ बर्दघाटको मुख्य बजार भएको वडा हो ।

 

योजना निर्माण भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि भक्तपुरले पाएको छ । प्रालिका व्यवस्थापक रोशनप्रसाद भण्डारीले बीचमा कुनै अवरोध नभए २ वर्ष अवधि भए पनि १५ महिनाभित्रै काम सम्पन्न गर्ने दाबी गरे ।


हाल ४ सय ५० घनमिटरको एउटा ओभर हेड ट्यांकी, ३ वटा डिप वेल र २ वटा मुहान स्रोतबाट पानी वितरण गर्दै आएको संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना समिति संयोजक दीपक लम्सालले जानकारी दिए ।

 

१० हजार लिटरसम्मको न्यूनतम महसुल १२० बाट घटाई वैशाखमा न्यूनतम मूल्य ११० रुपैयाँ कायम गरेको संस्थाले बताएको छ ।