close

कोरोनासँग जुध्न के गर्दै छन् बागलुङका स्थानीय तह ?

कोरोनासँग जुध्न के गर्दै छन् बागलुङका स्थानीय तह ?

Trulli
ADVERTISEMENT

बागलुङ- १५ चैत २०७६ मा बागलुङकी १९ वर्षीया एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो । 


कोरोना संक्रमणको पहिलो लहरको सुरुआतीमा भौतिक मात्रै नभई मानसिक रूपमा पनि तयार नभइसकेको अवस्थामा त्यसरी संक्रमित फेला पर्नु सबैका लागि चुनौतीको विषय बन्यो । 


बागलुङस्थित धौलागिरि अस्पतालमा आइसोलेसन वार्ड बनाइएको थियो । तर, न स्वास्थ्यकर्मीमा अनुभव थियो, न त अस्पतालसम्म कसले ल्याउँछ भन्ने स्वीकारोक्ति नै !


कोरोना नियन्त्रणका लागि गठित ‘जिल्ला कमान्ड पोस्ट’ ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएको ७ घन्टासम्म अन्योलै रह्यो । त्यतिबेलासम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर फैलिइसकेको थियो ।

 

यहाँसम्म कि संक्रमितलाई आइसोलेसन वार्डसम्म ल्याउने जिम्मेवारी पाएको एम्बुलेन्स चालकसमेत बरु आफूले जागिर छाड्ने तर बिरामी नबोक्ने भन्दै सम्पर्कविहीन भइदिए । अस्पतालसम्म ल्याउन कोही तयार नभएपछि आफैं तम्सिए, जिल्ला स्वास्थ्य प्रमुख डा सुरज गुरौ र उनका चालक रुद्र पराजुली ।


सम्भवतः उनी नेपालमै पहिलो पटक पिपिईको अनुभव लिने ती २ पहिलो व्यक्ति हुन् । पुनः १९ चैतमा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । ती संक्रमितलाई पनि उनीहरूले नै अस्पतालसम्म ल्याएका थिए । 

 

अनुभव र तयारीबिनै पनि धौलागिरि अस्पतालमा उनीहरूको सफल उपचार भयो । दुवैले कोरोना जिते र घर फर्किए । धौलागिरि अस्पतालमा कोरोना संक्रमितको सफल उपचार भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पटक-पटक भन्थे, ‘धौलागिरि अस्पताल र त्यहाँ कार्यरत कर्मचारीलाई धेरै धन्यवाद । अरू सरकारी अस्पतालले पनि सिक्नुपर्छ ।’

 

अरू अस्पतालले कोरोना संक्रमितलाई राख्न नमान्दा धौलागिरि अस्पतालले भने आँट गरेको भन्दै मुख्यमन्त्री गुरुङ अहिले पनि पटक-पटक प्रशंसा गर्छन् । तर, अहिले नेपाललाई पनि दोस्रो चरणको कोरोना संक्रमणले लेपिटिइसकेको छ । यो अघिल्लो कोरोनाभन्दा जटिल प्रजातिको रहेको चिकित्सकले सचेत बनाउँदै आएका छन् ।

 

आइसोलेसन निर्माणलाई प्राथमिकता 


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा ४ हजार ६२० जना कोरोनाका सक्रिय संक्रमित छन् । यसमध्ये बागलुङका ३ सय ३२ जना छन् । कोरोनाबाट अहिलेसम्म बागलुङमा ९ जनाको मृत्यु भएको छ । 

 

अघिल्लो लहरमा पहिलो पंक्तिमा उभिएर कोरोनासँग लडेको बागलुङ दोस्रो लहरसँग पनि लड्न अहिले स्थानीय तहान धमाधम आ-आफ्नै आइसोलेसन बेड बनिरहेका छन् ।  बागलुङको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला, निसीखोला, बरेङ र बागलुङ नगरपालिकालगायतले आ-आफ्नै आइसोलेसन कक्ष बनाउन लागेका हुन् । 


यसमध्ये बागलुङ नगरपालिकाले ३५ बेडको आइसोलेसन वार्ड बनाउने तयारीमा छ भने बाँकी गाउँपालिकाले बनाइसकेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन कक्ष बनाइसकेको छ । 


‘५ बेड पहिल्यै थियो । तर, कोभिड महामारी बढ्ने देखिएपछि १० बेड थपेका हौँ,’ गाउँपालिका प्रकाश घर्तीमगर भन्छन्, ‘गम्भीर बिरामीलाई आवश्यक पर्ने अक्सिजन पनि तयारीका साथ राखेका छौँ ।’ 

 

अध्यक्ष मगरले गाउँपालिकाले बनाएको कोभिड अस्पतालमा १ जना चिकित्सक र ३ जना स्टाफ नर्सको व्यवस्था गरिएको जानकारी दिए । ‘अप्ठेरो अवस्थामा चाहिने एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ । पोजेटिभ आएकाको सुरुमा यही उपचार हुन्छ । बढी गाह्रो हुन थाले सम्बन्धित ठाउँमा रेफर गर्छौं,’ उनले भने ।

 

निसीखोला गाउँपालिकाले ५ बेड क्षमताको आइसोलेसन वार्ड बनाएको उपाध्यक्ष शोभाकुमारी कार्कीले जानकारी दिइन् । त्यस्तै, बडिगाड गाउँपालिकाले पनि स्थानीय स्वास्थ्य संस्थामै १० बेडको आइसोलेसन कक्ष बनाएको छ । 

 

‘गाउँपालिकाका गम्भीर बिरामीलाई आवश्यक पर्ने १५ वटा अक्सिजन पनि तयारी अवस्थामा राखेका छौँ,’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने ।

 

बागलुङ नगरपालिकाले आफ्नो साविकको कार्यालयमा ३५ बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरेको छ । धौलागिरि अस्पतालको थोरै क्षमता भएकाले र जटिल बिरामीलाई मात्र उपयुक्त भएकाले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ती बेडका लागि पनि अक्सिजन व्यवस्था गरिसकिएको उनको भनाइ छ ।

 

लामो समयसम्म स्थानीय पालिकाले बेड नबनाएको गुनासो आइरहेका बेला बागलुङ नगरपालिकाले काम थालेको हो । नगरप्रमुख जनकराज पौडेलले निर्माणाधीन बेडमा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गरिने बताए ।

 

स्थानीय स्रोतले भेटेसम्म काम गर्ने र नभए प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिए । एनका अनुसार नगर स्वास्थ्य शाखामा स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेरै भए पनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।


नगर स्वास्थ्य प्रमुख खनालले बाहिरबाट आउनेका लागि होल्डिङ सेन्टर निर्माण सुरु भएको जानकारी दिए । बागलुङको वडा नम्बर १ रामरेखामा होल्डिङ सेन्टर राखेपछि शंकास्पद मानिसलाई सोझै घर-घरमा जान नदिने योजना उनले सुनाए । संक्रमणको दर तीब्र भएकाले उक्त योजनाले संक्रमण नियन्त्रणमा साथ मिल्ने उनको बुझाइ छ ।

 

सुरुमा सुस्त भए पनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन बनाइसकेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए ।

 

बडिगाड गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थामै १५ बेडको आइसोलेसन बनाएको हो । तमानखोला, निसीखोला, बरेङलगायतले पनि आइसोलेसन बनाएका छन् ।